वीरगन्ज :

बीरगन्जमा खानेपानी संकट, जनमत पार्टीका महिलाको ‘घैटो आन्दोलन’

श्रेणी : मधेस

3 weeks
Pradeep Sah
2.6kViews
1208 Shares

बीरगन्ज, २५ असार । बीरगन्ज र पर्सा जिल्लामा चापाकलहरू सुकेर खानेपानीको चरम अभाव भएपछि जनमत पार्टी निकट महिला जनमत संघले बुधबार बीरगन्जको सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको छ।

घण्टाघर चोकमा आयोजित प्रदर्शनमा महिला कार्यकर्ताहरूले खाली घैटो र बाल्टिन राखेर सरकारको ध्यानाकर्षण गराए। ‘जल सत्याग्रह’ लेखिएको ब्यानर सहित उनीहरूले “पानी दे कि मारी दे”, “सरकार आँखा खोल” र “पर्सालाई पानी संकटग्रस्त क्षेत्र घोषणा गर” लगायतका नारा लगाए।

जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले पर्सा र बीरगन्जका चापाकलहरू सुकेर जनता त्राहीमाम् हुँदा पनि तीनै तहका सरकार चुप रहेको आरोप लगाए। “तीनै तहका सरकार अन्धा र बहिरा बनेर वीरगञ्जका नागरिकलाई पानीविना मार्ने प्रयास गरिरहेका छन्,” उनले भने, “अब पनि सुनुवाइ नभए मुख्यमन्त्री कार्यालय घेराउ गर्छौं।”

वीरगञ्जमा गर्मी सुरु भएदेखि नै हरेक वर्ष पानीको समस्या गहिरिँदै आएको छ। संघीय सरकार, प्रदेश र महानगरपालिकाले डिप बोरिङ र ट्यांकरमार्फत पानी आपूर्ति गरे पनि मागअनुसार पुग्न सकेको छैन।

महानगरपालिकाले हाल संकटग्रस्त वडाहरूमा पानी ट्यांकर पठाएर वितरण गर्न थालेको छ। साथै, टोलटोलमा २ हजारदेखि १० हजार लिटर क्षमताका पानी ट्यांकी जडान गरेर आपूर्ति सहज बनाउन प्रयास भइरहेको महानगरले जनाएको छ।

तर, पानी संकटको दीर्घकालीन समाधानमा कुनै पनि तहका सरकार गम्भीर नभएको जनगुनासो छ। चर्को गर्मी र वर्षा नहुँदा गहिरिँदै गएको पानी संकटले वीरगञ्ज र आसपासका नागरिकको दैनिक जीवन कष्टकर बनेको छ।

स्थानीय बासिन्दाहरूले खानेपानी समस्या समाधानका लागि संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई तत्काल गम्भीर भएर दीर्घकालीन योजना ल्याउन माग गरेका छन्। अन्यथा सडकबाट हुने विरोध थप चर्किने संकेत जनमत पार्टीका नेताहरूले दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *