
श्रेणी : मधेस
बीरगन्ज,१६ साउन । बीरगन्ज महानगरपालिकामा बढ्दो खानेपानी संकटका बीच समाधानको बाटो खोज्दै महानगर र राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको संयुक्त प्राविधिक टोलीले बाराको अमलेखगन्जमा पानीको स्रोतको स्थलगत निरीक्षण गरेको छ।
प्रमुख राजेशमान सिंह र समितिका अध्यक्ष डा. किरण पौडेलको नेतृत्वमा गएको टोलीले अमलेखगन्जको भावर क्षेत्रमा रहेको कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा सञ्चालित पानी स्रोत तथा वितरण प्रणाली अवलोकन गरेको हो।
अमलेखगन्जमा भूसतह संरक्षणको प्रविधिबाट हाल दैनिक २४ लाख लिटर पानी वितरण भइरहेको जानकारीपछि वीरगन्जमा पनि यस्तो मोडेल लागू गर्न सकिन्छ कि भनेर टोलीले अध्ययन थालेको हो।
प्रमुख सिंहले भने, “वीरगन्जमा चापाकल सुक्दै गएका छन्। यही अवस्थालाई उल्ट्याउन हामीले अमलेखगन्जको सफल अभ्यासको अध्ययन थालेका हौँ। अब प्राविधिक रिपोर्टको आधारमा ठोस निर्णय लिनेछौँ।”
इञ्जिनियर अनिल सिन्हाले भावर क्षेत्रको सतही पानी संरक्षण गरी पोखरी तथा अन्य संरचनामार्फत भूगर्भीय जलस्तर बढाउन सकिने बताए। उनले वीरगन्ज नजिकैको भेडाहा खोला क्षेत्रलाई सम्भावित स्रोतका रूपमा चिनाउँदै संरक्षणको आवश्यकता औंल्याए।
कर्मकुमारी समितिका अध्यक्ष नारायण लामिछाने मगरका अनुसार, अमलेखगन्जमा पहिले तीव्र पानी अभाव थियो। तर अहिले सतहभन्दा ३ मिटर गहिरो क्षेत्रमा स्रोत संरक्षण गरेर ८२७ घरधुरीलाई नियमित पानी आपूर्ति भइरहेको छ।
ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगन्जको दीर्घकालीन खानेपानी संकट समाधानका लागि नयाँ स्रोतहरूको खोजी र संरक्षण कार्यको पहल भइरहेको जानकारी दिए।
यो निरीक्षणसँगै वीरगन्जमा पानीको भूसतह पुनः वृद्धि गर्ने र खानेपानीको दिगो आपूर्ति सुनिश्चित गर्ने प्रयासले नयाँ मोड लिएको छ।


प्रतिक्रिया