
श्रेणी : अपराध
बीरगन्ज,२२ साउन । बीरगन्ज महानगरपालिका–१३ स्थित राधेमाई टोलमा घटेको एक अत्यन्तै पीडादायक घटनाले स्थानीयबासी मात्र नभई सिङ्गो समाजलाई नै झस्काइदिएको छ।
मोटरसाइकल मर्मत पेशामा संलग्न नेक मोहम्मद र अफ्ताब अन्सारी नामक दुई युवाले एक किशोरीलाई तीन दिनसम्म बन्धक बनाई बसपार्क नजिकैको एक होटलमा बारम्बार बलात्कार गरेको, त्यसपछि गम्भीर अवस्थामा घडिअर्वा पोखरी क्षेत्रको गल्लीमा फालेको आरोप सार्वजनिक भएपछि यसप्रति देशव्यापी आक्रोश चुलिएको छ।
यस अमानवीय घटनाप्रति राष्ट्रिय समता पार्टी नेपाल, बीरगन्ज महानगर समितिले तीव्र आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। पार्टीका नगर संयोजक अमर सर्राफको नेतृत्वमा पर्सा जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ध्यानाकर्षण पत्रमा उक्त घटनालाई समाजका चेली–बेटीहरूको अस्मितामाथिको गम्भीर प्रहारको रूपमा चित्रित गरिएको छ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, “यो केवल एक किशोरीमाथिको अपराध होइन, सम्पूर्ण नारी अस्तित्वमाथि कुठाराघात हो।” पार्टीले अनुसन्धान प्रक्रियामा कुनै किसिमको राजनीतिक प्रभाव, मिलोमतो वा दबाब सहन नहुने उल्लेख गर्दै अपराधीलाई उन्मुक्ति दिन खोजिए कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ।
राष्ट्रिय समता पार्टीले यदि न्याय सुनिश्चित नभएमा सडकमा उत्रन समेत बाध्य हुने स्पष्ट सन्देश दिएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान जारी रहेको जानकारी दिएको छ।


प्रतिक्रिया