
श्रेणी : मधेस
बीरगन्ज,११ जेठ । नेपाल इनोभेटिभ सोसाइटीको आयोजना र बीरगन्ज नर्सिङ क्याम्पसको सहकार्यमा आयोजित एक दिने मोटिभेसनल तालिम कार्यक्रम सफलता साथ सम्पन्न भएको छ। कार्यक्रम बीरगन्ज नर्सिङ क्याम्पसको परिसरमा आयोजना गरिएको थियो, जहाँ करिब १०० जना नर्सिङ विद्यार्थीहरूको सक्रिय सहभागिता देखिएको थियो।
कार्यक्रमका प्रमुख वक्ता डा. निरज कुमार सिंहले “जीवन र त्यो एक घण्टा” भन्ने विषयमा बोलेका थिए। उनले समय व्यवस्थापन, उद्देश्यपूर्ण जीवनशैली र व्यक्तिगत विकासमा प्रेरणा कसरी महत्त्वपूर्ण भूमिका खेल्दछ भन्नेबारे गहन प्रस्तुति दिए।
त्यस्तै अर्की प्रमुख वक्ता डा. प्रीति यादवले “सकारात्मक मानसिक स्वास्थ्य जागरूकता” विषयमा बोल्दै विद्यार्थीहरूलाई मानसिक सशक्तिकरण, आत्मविश्वास अभिवृद्धि र सकारात्मक सोच विकास गर्न सकिने व्यावहारिक उपायहरू प्रस्तुत गरिन्।
कार्यक्रमकी प्रमुख अतिथि तथा क्याम्पस प्रमुख डा. कल्पना पौडेलले नर्सिङ पेशामा मानसिक स्वास्थ्य र प्रेरणाको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता तालिमहरूले विद्यार्थीहरूलाई व्यक्तिगत तथा व्यावसायिक जीवनमा सुदृढ बनाउने विश्वास व्यक्त गरिन्।
कार्यक्रम नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष श्री कमल चौगाईको अध्यक्षतामा सम्पन्न भएको थियो। संस्थाकी कोषाध्यक्ष श्रीमती मौसमी सुनुवार रानाले कार्यक्रम समन्वय गरेकी थिइन्। उनले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा बीरगन्ज महानगरपालिका–४ का वडा अध्यक्ष श्री जगत प्रसाद साह कानु, वडा प्रहरी कार्यालय विर्ताका इन्स्पेक्टर श्री निरोज चौलागाई, सचिव श्री ऋषि राज साट्याल, लिटिल बड्डी प्रिस्कूलका निर्देशक श्री विजय कुमार बल, सदस्य डा. स्वाति गुप्ता तथा विभाग प्रमुख श्रीमती सबिना अधिकारीको पनि उपस्थिति थियो


प्रतिक्रिया