
श्रेणी : मधेस
बीरगन्ज,३१ जेठ । आगलागीका घटनामा तत्काल प्रतिक्रिया जनाउने क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित बीरगन्ज महानगरपालिका–४ विर्ता चोकस्थित वडा प्रहरी कार्यालय बिर्ताको आयोजनामा विशेष तालिम कार्यक्रम सम्पन्न भएको छ।
प्रहरी निरीक्षक निरोज चौलागाईको उपस्थितिमा सम्पन्न उक्त तालिममा मधेश प्रदेश विपद् व्यवस्था गुल्म वीरगन्जबाट खटिएको टोलीले प्रशिक्षण दिएको हो। प्रशिक्षणको नेतृत्व प्रहरी सहायक निरीक्षक भोजराज साहले गरेका थिए, भने उनको टोलीमा प्रहरी हवल्दार त्रेता चौधरी, प्रहरी जवान जय प्रकाश कुश्वाहा र प्रदिप ठाकुर सहभागी थिए।
कार्यक्रममा स्थानीय भद्रभलाद्मी, समाजसेवी, बुद्धिजीवी तथा वडा प्रहरी कार्यालयका मातहत इकाइमा कार्यरत सुरक्षाकर्मीसमेत गरी ७५ जनाको सहभागिता रहेको थियो।
तालिममा आगलागी रोकथामका उपाय, सुरक्षाका लागि अपनाउनुपर्ने व्यवहारिक विधि, आगलागीको बेलामा प्रभावकारी प्रतिक्रिया दिने तरिका र सर्वसाधारणलाई सुरक्षित राख्नका उपायहरूबारे जानकारी दिइयो।
आयोजक प्रहरीका अनुसार, कार्यक्रमको मुख्य उद्देश्य विपद् व्यवस्थापनमा स्थानीय र सुरक्षाकर्मीको समन्वय सुदृढ बनाउनुका साथै समुदायमा सुरक्षा जनचेतना अभिवृद्धि गर्नु रहेको थियो।


प्रतिक्रिया