वीरगन्ज :

बीरगन्जको हरिखेतान क्याम्पसमा नियमित कक्षा सञ्चालनको मागसहित विद्यार्थीहरू धर्नामा

श्रेणी : BANNER

7 hours
Pradeep Sah
2.6kViews
1368 Shares

बीरगन्ज,२२ असोज । बीरगन्जस्थित हरिखेतान बहुमुखी क्याम्पसमा पठनपाठन अवरुद्ध भएपछि विद्यार्थीहरू धर्नामा बसेका छन् । नियमित कक्षा सञ्चालनको मागसहित ब्याचलर चौथो वर्षका विद्यार्थीहरूले बुधबार बिहान क्याम्पसको मुख्य गेट अगाडि धर्ना दिएका हुन् । साउन महिनादेखि अहिलेसम्म कक्षा नियमित रूपमा सञ्चालन हुन नसक्दा विद्यार्थीहरू आफ्नो अध्ययन र परीक्षा प्रभावित भएको भन्दै आक्रोशित बनेका छन् । विद्यार्थी शिवशंकर प्रसाद कुशवाहाले भने, “हामीलाई नियमित पढाइ चाहिएको मात्र हो। ”

विद्यार्थीहरूका अनुसार यस वर्ष साउन महिनादेखि अहिलेसम्म एक दिन पनि कक्षा नियमित रूपमा सञ्चालन हुन सकेको छैन । उनीहरूले प्रश्न गर्दै भने, “हामी परीक्षामा के लेख्ने ? यदि असफल भयौं भने यसको जिम्मेवार को हुने ?” विद्यार्थीहरूका अनुसार कानुन संकायसहित सबै संकायका कक्षा नियमित हुन सकेको छैन । उनीहरुले क्याम्पस प्रशासन र शिक्षक-कर्मचारीहरुले आफ्नै स्वार्थका निम्ति विद्यार्थीहरूको भविष्यसँग खेलवाड गरिरहेको गुनासो गरेका छन् ।

क्याम्पस प्रशासनले शिक्षक र कर्मचारीबीचको विवाद समाधान नगरेको कारण कक्षा अवरुद्ध भएको विद्यार्थीहरूको आरोप छ । यसैबीच, शिक्षक र कर्मचारीहरूले आफ्ना माग पूरा नभएसम्म अनिश्चितकालीन तालाबन्दी गर्ने निर्णय गर्दै मंगलबारदेखि क्याम्पस प्रमुखको कार्यकक्षसहित प्रशासनिक कोठाहरूमा तालाबन्दी गरेका छन्।

कर्मचारी युनियनका अध्यक्ष विनोद यादवद्वारा जारी विज्ञप्तिमा क्याम्पस प्रमुख किशोरी राय यादवमाथि गैरजिम्मेवार व्यवहार, झुटा आश्वासन र मनोमानी निर्णयको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिएको छ, “हाम्रो माग असोज २० गतेसम्म पूरा गर्ने भनिए पनि कुनै पहल नभएकाले बाध्य भएर तालाबन्दी गरिएको हो।”

युनियनका अनुसार, उनीहरू बजारको तुलनामा ५० प्रतिशत कम तलबमा काम गर्न बाध्य छन् र विगत अढाई वर्षदेखि तलब वृद्धि, ग्रेड, सञ्चय कोष, उपदान र अन्य सुविधाका लागि आन्दोलनरत छन्। क्याम्पस प्रमुख यादवले भने “क्याम्पसको नीतिनियम संशोधन र नयाँ व्यवस्था लागू गर्दा असन्तुष्टि देखिएको” प्रतिक्रिया दिएका छन्। उनले समस्या समाधानका लागि छलफल जारी रहेको बताए।

शिक्षक–कर्मचारीको आन्दोलन र विद्यार्थीको धर्नाका कारण हाल क्याम्पसको सम्पूर्ण पठनपाठन र प्रशासनिक कार्य अवरुद्ध भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *