बीरगन्ज,१० चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको सडक डिभिजन हेटौंडाले बीरगन्ज महानगरपालिकाको त्रिभुवन राजपथ विस्तारका लागि सडक सीमांकन प्रक्रिया अघि बढाएको छ।
सडक डिभिजन हेटौंडाका प्रमुख गुरु प्रसाद अधिकारीले नापी कार्यालय पर्सालाई पत्र पठाउँदै सीमांकन कार्यमा आवश्यक सहयोग गर्न आग्रह गरेका छन्। उनका अनुसार बीरगन्ज महानगरपालिका क्षेत्रअन्तर्गत पर्ने गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, बिर्ता, रजत जयन्ती चोक हुँदै तेरी पुलसम्मको सडक सीमांकन गरिनेछ।
यो योजनाअन्तर्गत सडकको दायाँबायाँ २५-२५ मिटर गरी कुल ५० मिटर चौडाइ कायम गर्दै सडक सम्पत्ति संरक्षण गरिनेछ। यसअघि २०८१ फागुन ५ गते वीरगञ्ज महानगरपालिकामा बसेको बैठकमा सो विषयमा निर्णय गरिसकिएको पत्रमा उल्लेख छ।
सडक डिभिजन हेटौँडाले नापी कार्यालयलाई पत्रमार्फत सीमांकन कार्यलाई तीव्रता दिन अनुरोध गर्दै सडक सम्पत्तिको संरक्षणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ। डिभिजन प्रमुख अधिकारीले सडक अतिक्रमण रोक्न, व्यवस्थित सहरीकरणमा योगदान गर्न र दीर्घकालीन यातायात सुविधा सुनिश्चित गर्न सडक विस्तार अत्यावश्यक रहेको बताए।
सडक विभाग बबरमहल, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगञ्ज महानगरपालिका र वीरगञ्ज-पथलैया सडक योजनालाई पत्र बोधार्थ पठाइएको छ। साथै, सडक डिभिजन हेटौँडाका इन्जिनियर रञ्जित साहलाई समन्वय गरी सीमांकन कार्य अघि बढाउन निर्देशन दिइएको छ।
प्रतिक्रिया