
श्रेणी : मधेस
बीरगन्ज, २२ चैत्र । बीरगन्जको घण्टाघर श्रमिकहरुको काम खोजी गर्ने मुख्य थलो बनेका छन् । बिहानको ६ बज्नासाथ घण्टाघर चोकमा श्रमिकहरूको भीड बढ्न थाल्छ। विभिन्न ठाउँबाट आएका मजदुरहरू मुख्य सडकछेउमा साइकल पार्किङ गरी रोजगारदाताको प्रतीक्षामा उभिन्छन्। नयाँ अनुहार देख्ने बित्तिकै उनीहरू काम दिने नाइके हो कि भनेर दौडिन थाल्छन्।
चैत २१ गते बिहान पनि यही दृष्य繖 देखा पर्यो। बीरगन्ज महानगरपालिका–२३ प्रसौनी बिर्ताका ४७ वर्षीय रामबालक चौहान दिनभरि कामको खोजीमा यहाँ आइपुगेका थिए। उनी पेशाले राजमिस्त्री हुन्। “गाउँमै काम पाइयो भने यहाँ आउनु पर्ने थिएन,” उनले भने, “छ छोरी र एक छोरा छन्, जसलाई पढाउनुपर्छ। नौ जनाको परिवारको पालनपोषण गर्नु छ।”
चौहानले दैनिक ज्याला ९०० रुपैयाँ रहेको बताए। तर, नियमित काम नपाउँदा परिवार चलाउन कठिन भइरहेको उनको गुनासो छ। बीरगन्जमहानगरपालिका–२२ का ४५ वर्षीय राज करिम पनि यहाँ दिनहुँ कामको खोजीमा आउँछन्। “सात जनाको परिवार छ, काम पाए सजिलो छ, नत्र बिहान–बेलुकी के खाने भन्ने चिन्ताले सताउँछ,” उनले भने।
घण्टाघर चोक वर्षौंदेखि श्रमिक र रोजगारदाताको ‘चौतारी’ बनेको छ। रामपुकार साह पनि त्यही भिडमा भेटिए। “भाग्य राम्रो भए काम पाइन्छ, नत्र रित्तै फर्किनुपर्छ,” उनले भने। मजदुरहरू बिहानदेखि दिउँसो २ बजेसम्म पर्खन्छन्। त्यसपछि काम नभए फर्किन्छन्।
यसैबीच, समिमा कन्स्ट्रक्सन प्रालि बीरगन्जका सञ्चालक नियाजबाबु शेख १५ जना मजदुर खोज्न यहाँ आइपुगेका थिए। “प्रसौनी नरकट्टियामा नाला निर्माण गर्न मजदुरहरू चाहिन्छ,” उनले भने, “यहाँ आवश्यक श्रमिकहरू सजिलै भेटिन्छन्।”
यता, बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमका अनुसार घण्टाघर श्रमिक बैंकसरह बनिसकेको छ। “यहाँ अदक्ष मजदुरहरू आउने गर्छन्, जो मुख्यतः निर्माण तथा लोड-अनलोड काम गर्छन्,” उनले भने। तर, यी श्रमिकहरूलाई औद्योगिक क्षेत्रमा व्यवस्थापन गर्न गाह्रो रहेको गौतम बताउँछन्। “उद्योगमा निरन्तरता आवश्यक हुन्छ, तर मौसमी मजदुरहरू त्यसरी काम गर्न तयार हुँदैनन्।”


प्रतिक्रिया