
श्रेणी : मधेस
बीरगन्ज, १० वैशाख । बीरगन्जस्थित ओम हस्पिटलले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सवको अवसरमा नयाँ भवनबाट सेवा विस्तार गर्दै नवौं वर्षमा प्रवेश गरेको छ। अस्पताल अब बीरगन्ज महानगरपालिका–१५, भिशुवास्थित नेशनल मेडिकल कलेज जाने बाटोमा ५० शय्याको अत्याधुनिक मल्टी स्पेसियालिटी अस्पतालको रूपमा सञ्चालनमा आएको छ।
यसअघि १५ शय्यामा सीमित सेवा प्रदान गर्दै आएको ओम हस्पिटलले अब स्त्री तथा प्रसूति रोगसँगै बाल रोग, हाडजोर्नी, नशा सम्बन्धी, र जटिल रोगहरूको उपचार सेवा थप गरेको छ। अस्पतालका सञ्चालक तथा वरिष्ठ स्त्री रोग विशेषज्ञ प्रा. डा. जगत् दीप पटेलका अनुसार नयाँ भवनबाट आइभीएफ सेवा र अनकोलोजी (क्यान्सर उपचार) सेवा पनि सुरू गरिएको छ। यसका लागि भरतपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सकहरू बीरगन्जमै सेवा दिन आउने छन्।
“हामीले स्वास्थ्य सेवाको पहुँच विस्ताँर गर्दै आधुनिक प्रविधिसहितको उपचार उपलब्ध गराउँदै आएका छौं,” डा. पटेलले भने। “नयाँ भवनबाट ल्याप्रोस्कोपी शल्यक्रियाजस्ता जटिल उपचारहरू अझ प्रभावकारी ढंगले अगाडि बढाइनेछ।”
नयाँ भवनको उद्घाटन वरिष्ठ चिकित्सक प्रा. डा. प्रमोद कुमार सर्राफ र डा. जगत् दीप पटेलले संयुक्त रूपमा गरेका थिए। उद्घाटन समारोहमा डा. सर्राफले ओम हस्पिटलको निरन्तर प्रगति र सेवाप्रतिको समर्पणको प्रशंसा समेत गरे।
अस्पतालले बिरामीहरूको सुविधाका लागि विभिन्न स्वास्थ्य सेवा प्याकेजहरू उपलब्ध गराएको छ, जसले गुणस्तरीय उपचारलाई थप पहुँचयोग्य बनाउने विश्वास गरिएको छ। नयाँ भवनबाट सेवा सुरुसँगै ओम हस्पिटलले बीरगन्ज क्षेत्रलाई स्वास्थ्य सेवाको हब बनाउने लक्ष्य लिएको छ।

प्रतिक्रिया