वीरगन्ज :

बीरगन्जको ऐतिहासिक घण्टाघर घुम्टोभित्र मर्मतमा ढिलाइ, स्थानीयको चासो

श्रेणी : BANNER

6 months
Pradeep Sah
3.0kViews
1729 Shares

बीरगन्ज,३१ वैशाख । बीरगन्जको ऐतिहासिक एवं प्रतीकात्मक संरचना घण्टाघर विगत तीन महिनादेखि मर्मतको घेराभित्र थुनिएको छ। फागुन ७ गते बाल्कोनी भत्किएपछि सुरु भएको मर्मत कार्य अझै अधुरो रहँदा स्थानीयवासी र पर्यटक दुवैमा असन्तोष बढेको छ।

भत्किएको बाल्कोनी अझैसम्म मर्मत सम्पन्न नभएर घण्टाघरलाई घुम्टोले छोपिएको अवस्थामा राखिएको छ। वीरगञ्ज घुम्न आउने पर्यटक यतिबेला फोटो खिच्ने सौन्दर्य नै हराएको भन्दै निराश देखिन्छन्।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले संरचना जीर्ण भएकोले मर्मतमा ढिलाइ भएको बताउँदै ठेकेदार कम्पनीलाई शीघ्र काम सक्न ताकेता गरिरहेको बताए।

इञ्जिनियर गौरव झाले पनि मर्मतमा ढिलाइ हुनुको कारण प्राविधिक जटिलता रहेको प्रष्ट पारे। उनका अनुसार बाल्कोनीमा वर्षौंदेखि निकासको व्यवस्था नहुँदा पानी जम्ने, घामपानीले क्र्याक आउने, छडमा खिया लाग्नेजस्ता समस्याले काम थप जटिल बनेको हो।

हाल स्काफोल्डिङ बाँधिएको र ५०–६० फिट उचाइमा काम भइरहेको जानकारी दिँदै उनले मुनिको संरचना सुरक्षित राख्दै मर्मत गर्नुपर्दा काममा समय लागेको बताए।
उनका अनुसार पुराना छड हटाएर नयाँ राख्ने काम भइरहेको छ र वर्षाले थप चुनौती नबनाए असार १० भित्र काम सम्पन्न गर्ने लक्ष्य छ।

सन् १९७९ मा जापानको योनागो सहरका विद्यार्थीहरूले आफ्नो एक दिनको खाजा खर्च कटाएर बनाएको यो घण्टाघर वीरगञ्जको प्रतिष्ठाको प्रतीक मानिन्छ।गत चैत २७ मा नेपालका लागि जापानी राजदूत माएदा तोरु वीरगञ्ज भ्रमणमा आउँदा घण्टाघरप्रति विशेष चासो देखाएको महानगरका अधिकारीले बताएका छन्।

बीरगन्जवासीले मर्मत कार्यमा शीघ्रता ल्याउन माग गरिरहेका छन्। सौन्दर्य, संस्कृति र इतिहासको प्रतीक यो घण्टाघर यथाशक्य छिटो पुरानै स्वरूपमा फर्कियोस् भन्ने अपेक्षा सबैको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *