
श्रेणी : अन्तर्राष्ट्रिय
बीरगन्ज,१६ माघ । बीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) तस्करीको केन्द्र बन्दै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। संघीय संसद् अन्तर्गतको अर्थ समितिले गठन गरेको उपसमितिले बीरगन्जमा बुधबार आयोजना गरेको भन्सार विधेयक संशोधनसम्बन्धी अन्तरक्रियामा सहभागीहरूले भन्सारमा कर्मचारीको मिलेमतो र कमजोर अनुगमनले तस्करी बढेको गुनासो गरेका हुन्।
एक सहभागीले तेस्रो मुलुकबाट आयात हुने सामानमा भन्सार दर कम देखाएर महँगा सामान भित्र्याउने काम भइरहेको बताए। उनले ‘ग्रिन च्यानल’मार्फत भन्सार छलेर तस्करी गरिने प्रवृत्तिलाई रोक्न सुरक्षा निकायलाई थप अधिकार दिनुपर्ने माग गरे।
बीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले उपभोग्य वस्तुहरूमा उच्च भन्सारका कारण तस्करी मौलाएको बताए। उनले सरकारलाई कम्तीमा एक सय वस्तुमा भन्सार महसुल घटाउन सुझाव दिँदै भने, “भन्सार घटाउँदा वस्तु आधिकारिक बाटोबाट आयात हुनेछ र राजस्व चुहावट रोकिनेछ।”
उपसमितिकी संयोजक नारायणी शर्माले छलफलका क्रममा प्राप्त सुझावलाई मध्यनजर गर्दै भन्सार विधेयकमा संशोधन गरिने बताइन्। उनले कर प्रणालीलाई बलियो बनाउन समिति दृढ रहेको स्पष्ट पारिन्।
स्थलगत निरीक्षणका क्रममा एक्सरे मेसिन र ल्याब जस्ता महत्त्वपूर्ण उपकरणको अभाव रहेको पाइएको छ। यो अभावले राजस्व चुहावट रोक्न चुनौती थपेको उपसमितिले जनाएको छ।
उपसमितिको टोलीमा नारायणी शर्मा, जुली महतो, अन्जनी श्रेष्ठ, छिरिङ डिम्डुल लामा, मुक्ता यादव, र नारायण प्रसाद आचार्य लगायतका प्रतिनिधि सभाका सदस्यहरू सहभागी थिए।

प्रतिक्रिया