
श्रेणी : BANNER
बीरगन्ज,०८ भदाै । बीरगन्जमा हैजाको प्रकोप फैलिएको छ। हाल यहाँका दर्जनौँ अस्पतालमा झाडापखाला तथा हैजाका कुल १२९ बिरामी उपचाररत छन्, जसमा ४१ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ। शनिबार राति ९२ जना भर्ना भएका बिरामी आइतबारसम्म १२९ पुगेका छन्।
नारायणी अस्पतालमा ३३ जना भर्ना भएका बिरामीमध्ये १५ जनामा हैजा पुष्टि भएको छ। तराई अस्पतालमा ३५ जना भर्ना भएका बिरामीमध्ये १२ जनामा संक्रमण पुष्टि भएको छ। एड्भान्स अस्पताल र नेसनल मेडिकल कलेजमा क्रमशः १४–१४ जना उपचाररत छन्, जसमा नेसनल मेडिकल कलेजका ६ जनामा हैजा पुष्टि भएको छ। अन्य अस्पतालहरूमा पनि २–४ जना बिरामीमा संक्रमण पुष्टि भएको छ। अधिकांश बिरामी वीरगन्ज महानगरपालिका वडा नं.११, १२, १६ र १८ का छन्।
अहिलेसम्म हैजाबाट कसैको मृत्यु नभएको स्थानीय प्रशासनले जनाएको छ। तर, शुक्रबार वीरगन्जको नारायणी अस्पताल र वीरगन्ज हेल्थकेयर अस्पतालमा ३५ वर्षीय युवक र १९ वर्षीया युवतीको झाडापखालासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मृत्यु भएको थियो। स्वास्थ्य परीक्षण नहुँदा ती मृतकको मृत्यु हैजा कारण हो भनी यकिन गर्न सकिएको छैन।
हैजा संक्रमण फैलिनुको मुख्य स्रोतबारे अझै आधिकारिक पुष्टि भने आएको छैन।


प्रतिक्रिया