![](https://birgunjreport.com/wp-content/uploads/2024/12/6.Birgunj-06-15.webp)
श्रेणी : BANNER
बीरगन्ज,१४ पुस । बीरगन्ज महानगरपालिकाले घण्टाघर छेउको विपी उद्यानमा अनधिकृत रूपमा सञ्चालनमा रहेका तरकारी, फलफूल, र खाजा–नास्ताका पसल तथा टहराहरू सात दिनभित्र खाली गर्न निर्देशन दिएको छ।
महानगरले यसअघि मंसिर २६ गतेको निर्णयअनुसार १५ दिनको समयसीमा दिएको भए पनि हालसम्म बजार खाली नगरिएकाले पुस १२ गते जारी नयाँ सूचनामा सात दिनभित्र अनिवार्य रूपमा बजार खाली गर्न चेतावनी दिएको हो।
२०७३ सालमा डोजर लगाएर खाली गराइएको विपी उद्यानको झन्डै १० बिघा जग्गामा पुनः टहरा बनाइ तरकारी, खाजा–नास्ता, र घरेलु मदिराका पसल सञ्चालन भएका छन्।
थोक तरकारी मण्डी र होटलबाट निस्कने फोहोरले वातावरण प्रदूषित हुँदा स्थानीय र यात्रुहरू दुर्गन्धको समस्याबाट पीडित छन्। अनधिकृत निर्माण र अव्यवस्थित बजारले वीरगन्ज महानगरको सौन्दर्यलाई कुरूप बनाएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जारी गरेको सूचनामा विपी उद्यानमा रहेको बजारलाई बीरगन्ज–१६ स्थित नगवा कृषि बजारमा सार्न आग्रह गरिएको छ।
यदि समयसीमाभित्र पसल खाली नगरिए, बजार हटाउने क्रममा लाग्ने खर्च सम्बन्धित व्यापारीले नै बेहोर्नुपर्ने चेतावनी महानगरले दिएको छ।
विपी उद्यानमा थुप्रिएको फोहोर र अव्यवस्थित टहराहरूले पर्यावरणीय र शहरी सौन्दर्यलाई क्षति पुर्याइरहेकाले यथाशीघ्र व्यवस्थापन र सरसफाइ आवश्यक रहेको स्थानीयले बताएका छन्।
महानगरपालिकाले सात दिनभित्र बजार खाली नभएमा कठोर कदम चाल्ने संकेत दिएको छ।
![](https://birgunjreport.com/wp-content/uploads/2023/12/laingik-hinsa-1536x458-1.jpg)
प्रतिक्रिया