
श्रेणी : मधेस
बीरगन्ज , २५ जेठ । बीरगन्जमा आइतबार दिउँसो एक कार दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्।
बीरगन्ज महानगरपालिका–१४ पिपरास्थित रेनुका पेट्रोल पम्प नजिकै दिउँसो करिब ३:१० बजे भारतीय नम्बर प्लेट (BR 55 B 9104) भएको कार अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
प्रहरी नायब उपरीक्षक सुवा भट्टका अनुसार गण्डकबाट बसपार्कतर्फ गइरहेको कार अचानक अनियन्त्रित भई सडकको बीच भागमा रहेको डिभाइडरमा ठोक्किएको हो। दुर्घटनामा सवार चारै जना घाइते भएका थिए।
घाइतेलाई तत्कालै उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल लगिएकोमा तीमध्ये करिब ३० वर्षीय बिटु सर्राफको उपचारका क्रममा दिउँसो ३:५० बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनको टाउको, मुख र कानमा गम्भीर चोट लागेको थियो।
अन्य घाइतेहरूमा भारत, बेतिया नरकटियागञ्जका करिब ४० वर्षीय कार चालक गणेश सर्राफ रहेका छन्। उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। त्यसैगरी सोही स्थानका २० वर्षीय रतन सर्राफको बायाँ हात र शरीरमा चोट लागेको छ भने २१ वर्षीय बिटु सर्राफ (रामबाबु सर्राफका छोरा) को दायाँ खुट्टा, छाती र टाउकोमा गम्भीर चोट लागेको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।


प्रतिक्रिया