
श्रेणी : मधेस
बीरगन्ज,०६ साउन । नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद (बीपी) कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा पर्सामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
पिपरास्थित सिद्धार्थ माध्यमिक विद्यालयको परिसरमा आयोजित कार्यक्रममा वृक्षारोपण गर्दै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको सन्देश दिइएको हो।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले वृक्षारोपणको महत्वलाई जोड दिँदै भने, “वृक्ष हाम्रा जीवनका आधार हुन्। सबैले आफ्नो गाउँ, घर र विद्यालय वरिपरि वृक्षारोपण गरेर वातावरण जोगाउन योगदान दिनुपर्छ।”
विशिष्ट अतिथिका रूपमा सहभागी नेपाली कांग्रेस पर्साका उप–सभापति रामनारायण कुर्मी, कांग्रेसका नेता, कार्यकर्ता र स्थानीयवासीको उल्लेखनीय उपस्थिति कार्यक्रममा देखिएको थियो। सहभागीहरूले वृक्षारोपणमार्फत हरियाली विस्तार र वातावरणीय सन्तुलन कायम गर्नुपर्ने विषयमा छलफल गरेका थिए।
नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति, क्षेत्र नं. १, पर्साले आयोजना गरेको कार्यक्रमको उद्देश्य स्वर्गीय बीपी कोइरालाको योगदानप्रति सम्मान व्यक्त गर्नुका साथै वातावरण संरक्षणको सन्देश फैलाउने रहेको आयोजकहरूले बताएका छन्।
कार्यक्रमलाई स्वागत गर्दै वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इमतियाज आलमले वृक्षारोपण अभियानलाई सकारात्मक कदम भन्दै स्थानीय तहबाट समेत सहयोग गर्न तयार रहेको बताएका छन्।


प्रतिक्रिया