श्रेणी : BANNER
मकवानपुर,२९ असार । मकवानपुरको कैलाश गाउँपालिका–३ सञ्चालित बालगृहमा बस्दै आएकी एक किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा बालगृहका अधिकृत पक्राउ परेका छन् ।
विपन्न र जोखिममा परेका बालबालिकाका सञ्चालन गरिएको बालगृहमा बस्दै आएकी बालिका बलात्कारको आरोपमा ४८ वर्षीय मधुसूदन राउत पक्राउ परेका हुन् । आफू पटकपटक बलात्कृत भएको भन्दै असार ८ गते पीडित किशोरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राउतविरुद्ध जाहेरी दर्ता गरेकी थिइन् । जाहेरी दर्ता गरे पनि राउत पक्राउ परेका थिएनन् ।
प्रहरीले राउतलाई काठमाडौंको काँडाघारी क्षेत्रबाट शुक्रबार दिउँसो नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार राउतलाई शनिबार मकवानपुर ल्याइएको र आइतबार म्याद थप गरी थप अनुसन्धान अघि बढाइनेछ ।
१७ वर्षीया किशोरी चार वर्षदेखि सांग्रीला डेभलपमेन्ट एसोसिएसनले सञ्चालन गर्दै आएको होस्टेलमा बस्दै आएकी थिइन् । उनका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो भने आमा सम्पर्कविहीन छिन् ।
मामाघरको हजुरआमासँग बसिरहेकी उनी कमजोर आर्थिक अवस्थाका कारण बालबालिका संरक्षणका लागि खोलिएको भनिएको होस्टेलमा थिइन् । बालगृहमा १५ जना बालिकाहरू छन् । तर, गत जेठ १ देखि ८ सम्मकै अवधिमा होस्टेल प्रमुख राउतले आफूलाई पटकपटक बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया