वीरगन्ज :

बारा-४ का उम्मेदवारमाथि आक्रमण प्रयासको निन्दा, दोषीलाई कारबाही गर्न माग

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.7kViews
1946 Shares

कलैया (बारा), ४ फागुन । राष्ट्रिय समता पार्टी नेपालले बारा जिल्ला निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार तथा राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवमाथि भएको कथित आक्रमण प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गरी संलग्नमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको हो ।

पार्टीका अनुसार बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १९ स्थित इनरुवा बजारमा चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा केही व्यक्तिहरूको समूहले बाटो अवरोध गरी अभद्र व्यवहार गर्दै आक्रमण प्रयास गरेको आरोप लगाइएको छ । विज्ञप्तिमा ‘हिन्दु राष्ट्र’ सम्बन्धी राजनीतिक धारणा राखेकै कारण योजनाबद्ध रूपमा त्रास सिर्जना गर्न खोजिएको उल्लेख गरिएको छ ।

घटनाका क्रममा स्थानीय नागरिकहरू शान्ति र लोकतन्त्रको पक्षमा उभिएपछि सम्भावित अप्रिय अवस्था टरेको पार्टीको दाबी छ । लोकतान्त्रिक व्यवस्थामा विचार र मत फरक हुन सक्ने भएपनि हिंसा, धाकधम्की र आतंकमार्फत राजनीतिक आवाज दबाउने प्रयास कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट गरिएको छ । पार्टीले यस्तो गतिविधिलाई स्वच्छ र भयरहित निर्वाचन वातावरणमाथिको प्रत्यक्ष आक्रमणको रूपमा व्याख्या गरेको छ ।

राष्ट्रिय समता पार्टी नेपालले बारा प्रशासनलाई यथाशीघ्र निष्पक्ष छानबिन गरी घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको छ । साथै, उम्मेदवारहरूको सुरक्षाको सुनिश्चितता गर्दै भयरहित वातावरणमा आसन्न निर्वाचन सम्पन्न गराउन राज्यका सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।

विज्ञप्तिमा लोकतन्त्रको मूल आत्मा विचारको स्वतन्त्र प्रतिस्पर्धा र मताधिकारको सम्मान भएको उल्लेख गर्दै राजनीतिक असहमति समाधानको माध्यम संवाद र बहस हुनुपर्नेमा जोड दिइएको छ । ‘लोकतन्त्रमा असहमतिलाई हिंसाले होइन, तर्क र मतले जवाफ दिनुपर्छ,’ पार्टीको भनाइ छ ।

महासचिव डा. अभिषेक तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचनको संवेदनशील घडीमा यस्ता घटनाले समग्र राजनीतिक वातावरणलाई अस्थिर बनाउन सक्ने चेतावनी दिइएको छ । पार्टीले सबै राजनीतिक दल, समर्थक तथा सर्वसाधारणलाई संयमता अपनाउन र शान्तिपूर्ण, मर्यादित चुनावी गतिविधिमा सहभागी हुन अपिल गरेको छ ।

बारा–४ मा बढ्दो चुनावी प्रतिस्पर्धाबीच आएको यस घटनाले क्षेत्रको राजनीतिक तापक्रम थप बढाएको छ । अब प्रशासनको कदम र छानबिन प्रक्रियाले नै घटनाको वास्तविकता उजागर गर्ने र आगामी निर्वाचन कत्तिको भयरहित वातावरणमा सम्पन्न हुन्छ भन्ने तय गर्नेछ । साभारः वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *