वीरगन्ज :

बारा–रौतहटमा सार्वजनिक यातायात अनिश्चितकालका लागि ठप्प, यात्रुहरू अलपत्र

श्रेणी : मधेस

1 week
Pradeep Sah
2.1kViews
1953 Shares

बीरगन्ज,२५ असार । बारा र रौतहटका ग्रामीण भेगदेखि बीरगन्ज हुँदै कलैयासम्म चल्ने सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि ठप्प भएको छ। मंगलबारदेखि बारा यातायात, पुरानो नारायणी यातायात र बारा गढीमाई यातायात समितिले संयुक्त रूपमा यातायात बन्दको घोषणा गरेका हुन्।

व्यवसायीहरूले स्थानीय सरकार, ट्राफिक प्रहरी र प्रशासनको चरम लापरबाही तथा अव्यवस्थाका कारण सेवा बन्द गर्नुपरेको बताएका छन्। आन्दोलनका संयोजक रामजी पटेलका अनुसार अव्यवस्थित पार्किङ, पिक एन्ड ड्रपको स्पष्ट व्यवस्था नहुनु, बसपार्क सञ्चालनमा नगरपालिकाको चासो नहुनु र पटकपटक छलफल गर्दा पनि समस्या समाधान नहुनुले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको हो।

व्यवसायीहरूले १० बुँदे ध्यानाकर्षणपत्र सार्वजनिक गर्दै अवैध सवारी सञ्चालन र ट्राफिक नियमको समान कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाएका छन्। उनीहरूले बिना लाइसेन्स सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मोडिफाई सवारी नियन्त्रण नगर्ने ट्राफिकको लापरबाही तुरुन्त रोक्न माग गरेका छन्।

बसपार्कमा न्यूनतम सुविधा नहुँदै कर थोपारिएकोप्रति पनि व्यवसायीले आपत्ति जनाएका छन्। “हामी सेवा दिन तयार छौँ, तर आधारभूत पूर्वाधार नदिई कर लगाइनु अन्याय हो,” व्यवसायीहरूको भनाइ छ।

यातायात बन्द भएपछि ग्रामीण क्षेत्रका सर्वसाधारण अलपत्र परेका छन्। अस्पताल, विद्यालय र कार्यालय जानुपर्ने यात्रुहरू विकल्पविहीन बनेका छन्। यद्यपि, कलैया उपमहानगरपालिकाले समस्या समाधानका लागि पहल भइरहेको जनाएको छ। तर व्यवसायीहरूले तत्काल प्रत्यक्ष पहल नदेखिए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *