वीरगन्ज :

बारा यातायात सेटिङ’ को साम्राज्य : सत्यानारायणबाट सुरु, अरविन्दर दासबाट विस्तार

श्रेणी : BANNER

3 months
Pradeep Sah
2.7kViews
1933 Shares

कलैया, बारा । बारा (कलैया) स्थित यातायात व्यवस्था कार्यालयमा व्यापक घुस र नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण काण्ड उजागर भएको छ। स्रोतका अनुसार यो ‘सेटिङ सिस्टम’को जग बसाल्ने व्यक्ति सत्यानारायण हुन्, जो यसअघि बिरगञ्जस्थित यातायात कार्यालयमा कार्यरत थिए।

सत्यानारायणकाे ‘सेटिङ’ कारोबार

सत्यानारायणले बिरगञ्जमा कार्यरत रहँदा घुस, सेटिङ र दलालमार्फत लाइसेन्स वितरण गर्ने संरचनाको खाका तयार गरेका थिए। उनलाई बारा सरुवा गरिएपछि पनि उनीसँगै आएको यो ‘सेटिङ सिस्टम’ अहिले प्रमुख अरविन्दर दासको हातमा पुगेको छ। कार्यालय स्रोतका अनुसार, सत्यानारायणले आफ्ना विश्वासिला दलालहरू र कर्मचारीमार्फत सेटिङको संरचना बारा कार्यालयमा पनि सुदृढ गरे, जुन अहिले पूर्ण रूपमा दासको नियन्त्रणमा छ।

हाल यातायात कार्यालय, बारा (कलैया) का प्रमुख रहेका अरविन्दर दासले राज्यका ऐन, नियम, कानुनलाई खुला रुपमा उल्लङ्घन गर्दै व्यापक भ्रष्टाचार गरिरहेका छन्। उनी दलालमार्फत मोटरसाइकल, स्कुटर र कारको लाइसेन्स १० हजारदेखि ३५ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्। सो रकमको ५०–६० प्रतिशत हिस्सा दासको भागमा जाने खुलासा गरिएको छ।

लिखित र ट्रायल परीक्षा पनि ‘सेटिङ’मै

लिखित परीक्षा पास गराउनेदेखि ट्रायल परीक्षामा अर्कै व्यक्तिलाई उभ्याउनेसम्मको सेटिङ बनेको छ। सेवाग्राहीले उपस्थित नभए पनि ‘ड्रेस परिवर्तन’ गरेर ट्रायल दिइने गरेको र पैसा तिरेपछि लाइसेन्स अनिवार्य रुपमा उपलब्ध गराइने व्यवस्था सत्यानारायणको पालादेखि सुरु भई अहिले दासद्वारा संस्थागत रूपमा सञ्चालन भइरहेको छ।

प्रमुख दासले कार्यालयका विभिन्न शाखा प्रमुखहरूलाई ‘दैनिक लेवी’ उठाउन निर्देशन दिने, लक्षित रकम नउठाए सरुवा र धम्की दिने गरेको समेत खुलासा भएको छ। मन्त्रालय र मुख्यमन्त्रीका लागि भनेर सेवाग्राहीसँग अवैध रकम असुल गर्ने दबाबसमेत दासले दिने गरेका छन्।

सूचना लुकाउँदै सूचना अधिकारको उल्लङ्घन

प्रमुख दासको कार्यकालमा जारी भएका लाइसेन्सको विवरण माग्दा कार्यालयले सूचना दिन अस्वीकार गरेको छ। सूचनाको हक ऐन २०६४ अनुसार जानकारी दिनुपर्ने भए तापनि महीनौं बित्दा पनि कुनै जवाफ नदिएको पाइएको छ।

दलालको स्वीकारोक्ति : “मैले दर्जनौं लाइसेन्स सेटिङबाट बनाएको छु”

नेपाल पोष्टका संवाददातासँग कुराकानी गर्दै एक दलालले “देशभरि यस्तो व्यापक सेटिङ अन्यत्र छैन, बारा नै मुख्य केन्द्र हो,” भन्दै आफूले दर्जनौं लाइसेन्स यस्तै प्रक्रियाबाट बनाएको खुलासा गरेका छन्।

 

सेवाग्राहीहरूका अनुसार प्रमुख दास राजनीतिक नेताहरूलाई लुटेरा भन्दै आलोचना गर्छन्, तर आफू भने गम्भीर आर्थिक अनियमिततामा मुछिएका छन्। सत्यानारायणबाट सुरु भएको सेटिङ प्रणाली अहिले प्रमुख दासको नेतृत्वमा संस्थागत भ्रष्टाचारको रूप लिएको देखिन्छ। सवारी सुरक्षालाई नै चुनौती दिने यो प्रकृतिको घटना तत्काल छानबिन गरी कारवाही हुनुपर्ने नागरिक समाज, मिडिया र सरोकारवाला निकायहरूको माग छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *