
श्रेणी : अन्तर्राष्ट्रिय
वीरगन्ज,२९ माघ । जिल्ला प्रहरी कार्यालय बाराले चेकजाँचको क्रममा ठूलो मात्रामा नेपाली र भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको तीन जनालाई अनुसन्धानपछि रिहा गरेको छ ।
माघ २६ गते साँझ ५ बजे नारायणघाटबाट वीरगन्ज आउँदै गरेको ना ५ ख ६५४४ नम्बरको यात्रु बस जाँच गर्दा तीन जना व्यक्तिको साथबाट नेपाली रुपैयाँ १० लाख १७ हजार ५०० र भारतीय रुपैयाँ १ लाख ४७ हजार ५०० फेला परेको थियो ।
अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरू सिरक, डसना, गद्दा तथा अन्य कपडाका समान बिक्री गरेर आर्थिक उपार्जन गर्ने समूहका सदस्य रहेको खुलेको छ ।
उनीहरू कमाइलाई सामूहिक रूपमा सङ्कलन गरी घर पठाउने गरेको विवरण पाएपछि प्रहरीले आवश्यक छानबिन गरी रकम जिम्मा लगाएर उनीहरूलाई रिहा गरेको बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाले जानकारी दिए ।
पक्राउ पर्नेहरू भारतको विहार राज्यस्थित दरपा – ४ निवासी उजीर मियाँ, विहार राज्यकै छौडादानो बुदबाहा-६, बिहार समिर आलम र बुदबाहाका गफार मियाँ रहेको डिएसपी सापकोटाले बताए ।

प्रतिक्रिया