वीरगन्ज :

बारा प्रहरीले एक महिनामा ५२ फरार पक्राउ, ३ करोडभन्दा बढी राजस्व संकलन

श्रेणी : अर्थ

1 week
Pradeep Sah
2.9kViews
1895 Shares

बारा,२१ फागुन । बारा प्रहरीले माघ १८ देखि फागुन २० गतेसम्मको एक महिने प्रगति विवरण सार्वजनिक गरेको छ।

प्रहरीले फरार प्रतिवादी पक्राउदेखि लागुऔषध नियन्त्रण, राजस्व संकलन र उजुरी फर्छ्योटमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ। यस अवधिमा ५२ जना फरार प्रतिवादी पक्राउ परेका छन्, जसबाट १३ लाख ८६ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।

बुधबार एक महिने प्रगती विवरण सार्वजनिक गर्दै बारा प्रहरीले भन्सार राजश्व संकलनमा पनि उल्लेखनीय प्रगती भएको जानकारी दिएको छ । भन्सार राजश्व संकलनतर्फ ३ करोड ५८ लाख ४० हजारभन्दा बढी रुपैयाँ राजश्व संकलन भएको बारा प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैगरी यही अवधिमा विभिन्न शीर्षकका ४३ वटा मुद्दा दर्ता गरिएको प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए । उनका अनुसार कर्तव्य ज्यान मुद्दा एक, सवारी ज्यान मुद्दा ७, लागु औषध मुद्दा १७, साइबर अपराधका एक मुद्दा र अभद्र व्यवहारका १७ मुद्दा दर्ता गरिएको छ ।

यी मुद्दा अन्तर्गत तीनजना भारतीय पुरुषसहित ८४ जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता पण्डित बताउँछन् । प्रहरीले यो एक महिनामा एक लाख एक्कासी हजार गाँजाको बोटसमेत नष्ट गरेको जनाएको छ ।

साथै लागु औषध गाँजा विभिन्न ठाउँबाट ठूलो परिमाणमा पक्राउ गरिएको उल्लेख गरेको छ । एक महिनामा बारा प्रहरीले ३२० किलो गाँजा बरामद गरेको छ भने यही अवधिमा अफिम २९ किलो र ब्राउन सुगर १७० ग्राम बरामद गरेको जनाएको छ ।

प्रहरीले यसैगरी एक महिनामा तीन लाख भन्दा बढी स्रोत नखुलेको रकम समेत बरामद गरेको जारी विज्ञप्तिमा लेखिएको छ । बारा प्रहरीमा परेको १४० उजुरीमध्ये ८६वटा उजुरीको फर्छोट भइसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *