
श्रेणी : अर्थ
वीरगन्ज,२७ पुस । बारा प्रहरीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको जाँच अभियानका क्रममा एक करोड रुपैयाँभन्दा बढी मूल्यका सामान लोड रहेका दुई ट्रकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले बिल भरपाई नभएको र स्रोत खुलाउन नसकिएका सामानसहित ट्रकहरू विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाका अनुसार, १ करोड ५ लाख ९५ हजार ५२८ रुपैयाँ बराबरका सामान बरामद गरिएको छ । नियन्त्रणमा गरिएका ट्रकहरू र बरामद सामानलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको छ ।
प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका-७ स्थित जितपुर चोकबाट पर्साबाट सप्तरीतर्फ जाँदै गरेको ना ५ ख २६०९ नम्बरको डिब्बा ट्रक नियन्त्रणमा लिएको हो । ट्रकबाट ७३ लाख ८४ हजार ४१७ रुपैयाँ बराबरका टायर, पाइप, औषधि, स्प्रे ट्याङ्कलगायतका सामान बरामद गरिएको छ ।
त्यस्तै, जितपुरसिमरा-१ पथलैया चोकबाट वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना ३ ख ५०३९ नम्बरको ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकबाट ३१ लाख ५१ हजार १११ रुपैयाँ बराबरका टायर, मोटर पार्ट्स, केमिकल पाउडर र इलेक्ट्रोनिक सामान बरामद गरिएको छ ।
यसका अतिरिक्त, महागढीमाई नगरपालिका-७ स्थित तेलकुवा क्षेत्रबाट ६० हजार रुपैयाँ मूल्यका कस्मेटिक सामान पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सामानहरूको बिल भरपाई र स्रोत स्पष्ट पार्न नसकेका कारण सामानलाई बरामद गरी ट्रकहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले यस्तो जाँच अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने बताएको छ ।
बरामद सामान र नियन्त्रणमा लिइएका ट्रकहरूलाई कानुनी प्रक्रियाअनुसार राजश्व अनुसन्धान कार्यालयमार्फत आवश्यक छानबिन र कारबाही गरिनेछ ।

प्रतिक्रिया