वीरगन्ज :

बारा-पर्सा औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरु

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.8kViews
1069 Shares

बीरगन्ज, ७ चैत्र । भारतबाट विद्युत् आयात कटौती भएपछि बारा-पर्सा औद्योगिक कोरिडोरका उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ, जसका कारण उत्पादनमा ठूलो असर परेको छ।

विशेषगरी निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरू बढी प्रभावित भएका छन्। माघ महिनादेखि निर्माण सामग्रीको माग बढ्ने भए पनि यही समयमा विद्युत् आपूर्ति अनिश्चित भएपछि उत्पादन अवरुद्ध भएको उद्योगी व्यवसायीहरूले गुनासो गरेका छन्।

उच्च विद्युत् खपत गर्ने सिमेन्ट, डण्डी, पाइप, पेन्ट्सजस्ता उद्योगहरूमा लोडसेडिङको प्रत्यक्ष असर परेको छ। बारा-पर्सा कोरिडोरमा करिब दुई दर्जन यस्ता उद्योग सञ्चालनमा छन्। वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालका अनुसार, ११ केभीए प्रसारण लाइन लिएका उद्योगहरूमा दैनिक ७-८ घण्टा विद्युत् कटौती भइरहेको छ, जबकि ३३ र ६६ केभीए लिएका उद्योगहरूमा १२ घण्टासम्म लाइन काटिने गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका उद्योग समिति अध्यक्ष दीपेश अग्रवालले पटक–पटक लाइन काटिँदा कच्चा पदार्थ खेर जाने, उपकरण र मोटर बिग्रने समस्या बढेको बताए।

वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले भारत र बंगलादेशलाई बिजुली बेच्ने योजना बनाउने सरकारले आफ्नै उद्योगलाई पर्याप्त विद्युत् दिन नसक्नु लज्जास्पद भएको बताएका छन्।

नेपाल विद्युत् प्राधिकरण, वीरगञ्जका प्रमुख अवधेश दुवेका अनुसार, चैत ३ गतेदेखि भारतबाट आयात हुने बिजुलीको समय कटौती गरिएपछि आपूर्तिमा समस्या आएको हो।

यसअघि दैनिक २० घण्टा विद्युत् आयात भइरहेकोमा अहिले १२ घण्टामा सीमित गरिएको छ। अहिले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्रै भारतबाट बिजुली आउने भएकाले साँझपछि औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्नुपरेको उनले बताए।

नेपालको आन्तरिक विद्युत् माग १,९०० मेगावाट रहेको छ, तर हाल ५०० मेगावाट बिजुली भारतबाट आयात गर्नुपर्ने अवस्था छ। परवानीपुर–रक्सौल प्रसारण लाइनबाट आपूर्ति बढाउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ।

“अहिले भारतबाट १५० मेगावाट बिजुली आइरहेको छ, हामीले १८० मेगावाट पुर्‍याउने प्रयास गरिरहेका छौँ,” प्रमुख दुवेले जानकारी दिए।

लगातारको लोडसेडिङले उद्योगहरूको उत्पादन लागत बढ्नुका साथै औद्योगिक लगानी नै जोखिममा पर्ने खतरा बढेको छ।

उद्योगी व्यवसायीहरूले सरकार र विद्युत् प्राधिकरणसँग तत्काल समाधानको माग गरेका छन्। भारतीय पक्षसँग छलफल जारी रहे पनि यथाशीघ्र ठोस कदम नचालिए उत्पादन संकट अझ गहिरिने उद्योग व्यवसायीहरूको चिन्ता छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *