
श्रेणी : BANNER
बीरगन्ज,१२ साउन । अमलेखगञ्ज क्षेत्रमा प्रहरीले बिना कागजात एक सय ग्रामभन्दा बढी सुन बोकेर हिँडिरहेका युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ निवासी २६ वर्षीय गोपिलाल बिश्वकर्मा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, अमलेखगञ्जस्थित चेकपोस्टमा हेटौंडाबाट निजगढतर्फ जाँदै गरेको ना २२ प ३८३४ नम्बरको मोटरसाइकललाई शंकास्पद देखेर रोकिएको थियो। चेकजाँच गर्दा बिश्वकर्माको साथ रहेको झोलाबाट कुनै बिल नभएको १०८.८ ग्राम (९१२.६९ तोला) सुनका गरगहना बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरी प्रमुख एसपी सन्तोष तामाङले सुन बिना कागजात बोकेको अवस्थामा बिश्वकर्मालाई नियन्त्रणमा लिएको पुष्टि गरे। प्रारम्भिक अनुसन्धानमा उनी उक्त सुनको वैधानिक कागजात देखाउन नसकेको बताइएको छ।
बिश्वकर्मामाथि सुन तस्करीको आशंकामा थप अनुसन्धान जारी छ। उनी हाल इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा छन्। प्रहरीले बरामद गरगहनाको स्रोत र प्रयोजनबारे पनि छानबिन गरिरहेको छ।


प्रतिक्रिया