वीरगन्ज :

बारामा २ सय १२ किलो गाँजासहित चार जना पक्राउ

श्रेणी : अपराध

2 days
Pradeep Sah
1.8kViews
1566 Shares

बीरगन्ज,१४ असार । बारा प्रहरीले शनिबार ठूलो परिमाणमा गाँजा बरामद गर्नुका साथै चार जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले एउटा पिकअप गाडीसहित लागुऔषध तस्करहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको सेतो रङ्गको पिकअप गाडी र त्यसमा सवार चार जनालाई नियन्त्रणमा लिइएको छ। प्रहरीले उक्त गाडीबाट २१२ किलो ९२८ ग्राम गाँजा बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा मकवानपुरको थाहा नगरपालिका वडा नं. ४ तालुङ बस्ने पिकअप चालक २८ वर्षीय रबि कार्की, थाहा नगरपालिकाको वडा नं. १२ टिसटुङ बस्ने ४६ वर्षीय बिर बहादुर गोले, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं. १४ उत्तरपानीका २३ वर्षीय साजन मुक्तान, र धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं. ७ आपसी चोक बस्ने ३१ वर्षीय महेश तामाङ रहेका छन्।

प्रहरीलाई हेटौँडाबाट प्रसौनी गण्डकतर्फ लागुऔषध गाँजा आइरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा प्रहरी निरीक्षक खेमप्रसाद नेपालको कमाण्डमा जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय सिमरा र प्रसौनी बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गरेको थियो।

बाराको परवानीपुर गाउँपालिका वडा नं। ५ बहुअरीस्थित गण्डक नहरको सडक खण्डमा चेकप्वाइन्ट थापेर सवारी साधन तथा पैदल यात्रुलाई जाँच गर्ने क्रममा हेटौँडाबाट प्रसौनी गण्डकतर्फ आउँदै गरेको उक्त पिकअप गाडीलाई रोकिएको थियो। गाडीको धानको भुसभित्र लुकाईछिपाइ राखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको हो।

नियन्त्रणमा लिइएका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *