वीरगन्ज :

बारामा शिक्षकका छोराछोरीलाई सरकारी स्कुलमै पढाउन वडाध्यक्षको निर्देशन

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.0kViews
1590 Shares

बीरगन्ज,१० वैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद लामिछानेले सरकारी विद्यालयमा कार्यरत शिक्षकहरूका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक (सरकारी) विद्यालयमै भर्ना गराउन निर्देशन दिएका छन्।

बैशाख ८ गते बसेको वडासमितिको बैठकपछि जारी सूचनामार्फत लामिछानेले वडामा रहेका सबै सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरूले आफ्ना बालबालिकालाई निजी विद्यालयमा नभइ सरकारी विद्यालयमै पढाउनुपर्ने स्पष्ट गरेका हुन्।

नपुगे सेवा–सुविधा पनि कटौती हुने
निर्देशन उल्लंघन गरेर शिक्षक–शिक्षिकाले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा भर्ना गराएको पाइएको खण्डमा उनीहरूलाई वडा तथा पालिकाबाट प्राप्त हुने सेवा–सुविधा कटौती गरिने चेतावनीसमेत सूचनामा दिइएको छ।

वडाध्यक्ष लामिछानेले यस कदमलाई सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि आवश्यक भएको भन्दै यस्तो नीति लागू गरिएको बताए। “शिक्षकले आफू पढाउने विद्यालयमा आफ्ना बालबालिका पढाउँछन् भने त्यसले विद्यालयप्रतिको विश्वास र गुणस्तर दुवै बढ्छ,” उनले उल्लेख गरेका छन्।

स्थानीयको सकारात्मक प्रतिक्रिया
वडाध्यक्षको यो निर्देशनप्रति वडावासीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार शिक्षक आफैले आफ्नो विद्यालयप्रति विश्वास देखाउने हो भने अरू अभिभावक पनि सरकारी विद्यालयतर्फ आकर्षित हुनेछन्।

देशभर नै सरकारी विद्यालयप्रति नागरिकको विश्वास घट्दै गएको बेला शिक्षकहरू स्वयं आफ्ना छोराछोरी निजी विद्यालय पठाउने प्रवृत्तिले सामुदायिक शिक्षाको विश्वसनीयता झनै कमजोर बनाउँदै आएको छ। यस्तै सन्दर्भमा बाराको यो निर्णयले अब केही फरक सन्देश दिन सक्छ भन्ने आशा गरिएको छ।

शिक्षाको सुधारका लागि जिम्मेवार पक्षको प्रत्यक्ष सहभागिता आवश्यक ठहरिँदै गएको छ, र बाराको यो निर्णय त्यसैको एउटा प्रारम्भिक उदाहरणका रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *