
श्रेणी : मधेस
बीरगन्ज,१५ वैशाख । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २२, अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुई बस र एक ट्रकको श्रृंखलाबद्ध ठोक्किँदा १९ जना यात्रु घाइते भएका छन्।
आज बिहान पोखराबाट रौतहटतर्फ जाँदै गरेको ग १ ख ११५४ नम्बरको बसलाई काकडभिट्टाबाट पोखरा जाँदै गरेको ग २ ख १६५५ नम्बरको अर्को बसले ठक्कर दिएको थियो। ठक्करपछि अनियन्त्रित बनेको ग २ ख १६५५ नम्बरको बसले पथलैयाबाट हेटौंडातर्फ गइरहेको प्रदेश २-०३-००१ ख ५१८७ नम्बरको कोइला लोड ट्रकलाई ठोक्किँदा बस सडकबाट ५ मिटर तल खसेको थियो। ट्रक सडक किनारामा बिग्रिएर रोकिएको अवस्थामा रहेको बताइएको छ।
दुर्घटनामा घाइते भएका १९ जनामध्ये केहीको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये ठक्कर दिने बसका चालक कास्की रुपा गाउँपालिका–७ निवासी ४० वर्षीय रवि कुमार ताम्राकार, सहचालक ५० वर्षीय वासुदेव अधिकारी, तनहुँ भानु नपा–८ का अनिल बस्नेत, इलाम माइ नगरपालिका–४ का राजेन्द्र सुनुवारलगायत छन्। उनीहरूलाई हेटौंडा सामुदायिक अस्पताल र स्थानीय अकलबहादुर कार्की अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा भारत भङकुराका ४६ वर्षीय बिलाश दास, सप्तरी र रुपन्देहीका यात्रुहरू, साथै इलाम, पाँचथर, झापा, दोलखा र खोटाङका यात्रुहरू घाइते भएका छन्।
घटनापछि ग १ ख ११५४ नम्बरको बस र सो बसका चालक चितवन राप्ती नगरपालिका–३ निवासी ४७ वर्षीय तिलक ब. थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा सवारी साधन हटाउने कार्य भइरहेको र एकतर्फी सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
बारा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।


प्रतिक्रिया