श्रेणी : मधेस
बारा,२३ माघ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-७ स्थित मामाघर आएका तीन वर्षीय हन्श चौधरी एक हप्तादेखि बेपत्ता भएका छन्। माघ १७ गते मामा रञ्जित जैसवालको घर अगाडि खेल्ने क्रममा उनी हराएको बारा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रातो हुडी र निलो पाइन्ट लगाएका बालक सम्पर्कविहीन भएका हुन्। खोजीका लागि परिवार र सुरक्षाकर्मीले विभिन्न प्रयास गरे पनि हालसम्म उनको अवस्था अज्ञात छ।
बालकको अवस्थाबारे जानकारी दिने व्यक्तिलाई परिवारले एक लाख रुपैयाँ इनाम घोषणा गरेको छ। यसैबीच बारा क्षेत्र नम्बर ४ का सांसद तथा पूर्व मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) ले खोजीमा मद्दत गर्ने व्यक्तिलाई थप ५१ हजार रुपैयाँ इनाम दिने घोषणा गरेका छन्।
पूर्व मन्त्री श्रेष्ठले सुरक्षा निकायसँग संवाद गर्दै खोजी कार्य तीव्र बनाउन निर्देशन दिएका छन्। उनले आफैं गाडी लिएर बारा र पर्साका शंकास्पद स्थानहरूमा पुगेर खोजी कार्यमा संलग्न हुने प्रतिबद्धता जनाएका छन्।
बालक हराएपछि परिवारजन आक्रोशित र चिन्तित बनेका छन्। बालकका आमा र हजुरआमा निरन्तर बेहोस हुने अवस्थामा पुगेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङले घटनालाई गम्भीर रूपमा लिएर विशेष टोली परिचालन गरिएको बताए। सिसिटिभी फुटेजको अध्ययन भइरहेको छ। फुटेजमा बालकलाई एक्लै देखिएको भए पनि हालसम्म थप विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया