श्रेणी : अपराध
बीरगन्ज,२४ माघ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२४ हरपुर पुल नजिकै मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
ना ३ त ८४१९ नम्बरको ट्याक्टरले श्रीपुरबाट मिलन चोकतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको ना ६५ प ५५०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको बारा प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका कलैया उपमहानगरपालिका-१६ मझौलिया टोलका ३१ वर्षीय विजयकुमार महतोको उपचारका क्रममा वीरगञ्जस्थित नेपाल मेडीसिटी ब्योधा अस्पतालमा मृत्यु भएको छ।
दुर्घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार ट्याक्टर तीव्र गतिमा रहेको र अनियन्त्रित भएर मोटरसाइकललाई ठक्कर दिएको अनुमान गरिएको छ। घटनापछि स्थानीयवासीले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन्।
बारा प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। मृतक महतोका परिवारलाई खबर गरिसकिएको छ भने शव पोस्टमार्टमपछि परिवारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।
प्रतिक्रिया