
श्रेणी : मधेस
बारा — बारामा चट्याङ लागेर दुई फरक स्थानमा आगलागी भएको छ, जसमा लाखौंको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ।
बारागढी गाउँपालिका–४, सुखीपथरा बसोबास गर्ने हरिन्द्र प्रसाद कामीको कुखुरा फर्ममा बुधबार बेलुका चट्याङ पर्दा ठूलो क्षति पुगेको हो। पराल र टिनको छानोले बनेको उक्त फर्ममा चट्याङ लागेपछि आगलागी भई फर्मभित्र रहेका २ हजार तयारी कुखुरा, कुखुराको दाना र फर्म संरचना पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रहरीका अनुसार आगलागीबाट करिब २० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।
यस्तै, अर्को घटना करैयामाई गाउँपालिका–८, नरहीमा पनि घटेको छ। स्थानीय अभिनाश कुशवाहाले आफ्नो कृषि मिटर जोगाउन बनाएको फुसको घरमा चट्याङ पर्दा आगलागी भएको हो। प्रहरीका अनुसार चट्याङले गर्दा घर र कृषि मिटर दुबै पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
उक्त आगलागीबाट करिब १० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
पछिल्लो समय चट्याङका घटनाहरू दोहोरिन थालेका छन्। मौसम बद्लिँदै जाँदा यस्ता प्राकृतिक प्रकोपको जोखिम बढेकाले सावधानी अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।


प्रतिक्रिया