
श्रेणी : अन्तर्राष्ट्रिय
बारा,२८ चैत । बारा जिल्लाको फेटा गाउँपालिकामा लागु औषध तस्करीको प्रयास प्रहरीद्वारा विफल पारिएको छ। विशेष सूचनाको आधारमा निगरानीमा राखिएको ट्र्याक्टरबाट इन्धन ट्याङ्की खोल्दा ब्राउन सुगर जस्तो देखिने १५८ ग्राम ९१० मिलिग्राम लागु औषध फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, ना ३ त ४७१४ नम्बरको ट्र्याक्टरलाई फेटा गाउँपालिका–३ चौतारास्थित सडक खण्डमा रोकेर चेकजाँच गर्दा उक्त पदार्थ बरामद भएको हो। ट्र्याक्टरको इन्धन ट्याङ्कीमा प्लास्टिकमा बेरिएको अवस्थामा लागु औषध लुकाइएको थियो।
तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले ट्र्याक्टर चालक ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारीलाई पक्राउ गरेको छ। दुवै जना भारतको पूर्वी चम्पारणस्थित शिवनगर इनर्वा पंचायत वडा नम्बर २ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, भारतबाट नेपाल भित्र्याइएको उक्त लागु औषध कुनै नेटवर्कमार्फत बिक्री वितरण गर्ने योजना रहेको आशंका गरिएको छ।
नेपाल–भारत खुला सीमाका कारण बारा लगायतका जिल्लाहरू लागु औषध तस्करीको संवेदनशील बिन्दु बन्न थालेका छन्। प्रहरीले यस्ता तस्करी प्रयासहरूलाई रोक्न सीमावर्ती क्षेत्रमा निगरानी र चेकजाँच अभियान तीव्र पारेको छ।
प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार, “अब तस्करहरूले सामान्य सवारीसाधन प्रयोग गरेर तेलको ट्याङ्की, सिटमुनि वा अन्य लुकेर लगिने स्थानमा लागु औषध लुकाउने प्रवृत्ति बढेको छ। यस्ता अवैध गतिविधिमा संलग्नहरूलाई कडाभन्दा कडा कारबाही गरिनेछ।”
प्रहरीले तस्करी प्रयास विफल पारेको यस घटनाले सीमावर्ती क्षेत्रमा अझ सशक्त निगरानीको आवश्यकतालाई उजागर गरेको छ।

प्रतिक्रिया