वीरगन्ज :

बाराबाट ठुलो परिमाणमा लागुऔषध गाँजासहित चार जना पक्राउ

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.7kViews
1580 Shares

बारा,२० वैशाख । बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका क्षेत्रबाट प्रहरी गस्ती टोलीले २२५ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ। लागुऔषध गाँजा एक ट्याक्टरमा फल्स बटन बनाई लुकाइएको अवस्थामा बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार, पक्राउ पर्नेहरूमा ट्याक्टर चालक आदर्श कोतवाल–३ बाँतरा निवासी ३० वर्षीय नन्दकिशोर मुखिया बिन, हेटौडा उपमहानगरपालिका–४ का २१ वर्षीय कमाण प्रजा, मकवानपुरको कैलास गाउँपालिका–४ देवतिसका २४ वर्षीय सिताराम प्रजा, र बकैया गाउँपालिका–५ छतिवनका २२ वर्षीय नवराज मगर रहेका छन्।

प्रहरीलाई गोप्य सूचनाका आधारमा जानकारी प्राप्त भएको थियो कि आदर्श कोतवाल–३ बाँतरास्थित एक खेत छेउमा पार्किङ गरिएको प्र.२–०३–००१त ४८७६ नम्बरको ट्याक्टरमा फल्स बटन बनाई गाँजा लुकाइएको छ। सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बारागढीबाट इन्स्पेक्टर कुसुम नायकको कमान्डमा खटिएको टोलीले शुक्रबार साँझ सो ट्याक्टरको जाँच गर्दा ढालामुनि फल्स बटनमा प्लास्टिकले बेरिएको अवस्थामा १५ वटा कार्टुनमा राखिएको २२५ किलो गाँजा फेला पारेको हो।

चालक नन्दकिशोर मुखियालाई नियन्त्रणमा लिएर गरिएको सोधपुछमा अन्य तीन जनाको संलग्नता खुलेपछि प्रहरी टोलीले कोल्हवी बजारस्थित रोज उड होटलको कोठा नम्बर ३०३ मा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

हाल बरामद गरिएको गाँजा, ट्याक्टर र चारै जना पक्राउ परेका व्यक्ति जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा छन् भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *