
श्रेणी : मधेस
बीरगन्ज,२८ असार । दुई दशकदेखि निजी कम्पनीको भोगचलनमा रहँदै आएको बाराको हलखोरिया साझेदारी वनमा पुनः वृक्षारोपणको अभियान सुरु गरिएको छ। शुक्रवारदेखि सुरु भएको रोपाइँ अभियानले वन संरक्षण तथा पुनर्संरचनातर्फ नयाँ सम्भावना खोल्ने विश्वास गरिएको छ।
डिभिजन वन कार्यालयका अनुसार, नेचुरल हर्बल उद्योग प्रा.लि.ले २० वर्षसम्म प्रयोग गर्दै आएको २९ बिघा वन क्षेत्रको सम्झौता खारेज गरेपछि सो क्षेत्रमा टिक, सतिससाल, मलेसियन साल जस्ता बिरुवा रोप्ने कार्य अघि बढाइएको हो।
डिभिजन वन प्रमुख राजीव कुमार झाका अनुसार, साझेदारी वनका पूर्व अध्यक्षमार्फत वार्षिक भाडामा निजी कम्पनीलाई दिइएको करिब ५० बिघा जग्गा फिर्ता लिइएको छ। अबदेखि साझेदारी वनको कुनै पनि क्षेत्र निजी कम्पनीलाई भाडामा नदिइने निर्णय भइसकेको उनले जानकारी दिए।
हलखोरिया साझेदारी वन सन् २०६४ मा उपभोक्ता समूहलाई हस्तान्तरण गरिएको थियो। हाल यो वनबाट बाराका ४० हजार घरधुरी र २ लाख ४० हजार उपभोक्ता दाउरा र काठका लागि निर्भर छन्। तर, साझेदारी वनका अध्यक्ष विकल्प भट्टराईका अनुसार, अझै करिब ६ सय हेक्टर वन क्षेत्र अनुत्पादक रहेको छ भने ५ सयभन्दा बढी घरधुरीले वन अतिक्रमण गरी बसोबास गरिरहेका छन्।
“अब साउनदेखि अतिक्रमण हटाउने प्रक्रिया सुरु हुनेछ,” अध्यक्ष भट्टराईले बताए। यसका लागि सम्बन्धित निकायहरूमा पत्राचार भइसकेको र वैज्ञानिक वन व्यवस्थापन लागू गरिएका प्लटहरूमा वृक्षारोपण हुने जानकारी उनले दिए।
वन प्रमुख झाले भने, तराईका वन क्षेत्र दिन–प्रतिदिन अतिक्रमण र दुर्व्यवस्थाका कारण संकुचित हुँदै गइरहेका छन्। “यदि समयमै पुनरुत्पादन र व्यवस्थापन गरिएन भने वातावरणीय सन्तुलनमा गम्भीर असर पर्नेछ,” उनले चेतावनी दिए।
यस वर्ष, हलखोरिया साझेदारी वनमा ५० बिघा क्षेत्रमा वृक्षारोपण, निजगढको अदर्श सदाबहार सामुदायिक वनभित्र सञ्चालित अलकत्रा उद्योग हटाउने तथा निजगढ नगरपालिका–१ र २ अन्तर्गतको १९ हेक्टर अतिक्रमित वन भूमिमा वृक्षारोपण गरिने योजना बनाइएको छ।


प्रतिक्रिया