
श्रेणी : मधेस
बारा,२० वैशाख । अवैध मदिरा उत्पादन र यसको दुष्परिणामबारे स्थानीयस्तरमा सचेतना फैलाउने उद्देश्यसहित बाराको सिम्रौनगढ नगरपालिका–८, कचोर्वा पुरानो चौकमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम जिल्ला प्रहरी कार्यालय बाराको आयोजना र सहजीकरणमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले अवैध मदिरा उत्पादनलाई गम्भीर सामाजिक र कानुनी अपराधका रूपमा व्याख्या गर्दै यसलाई रोक्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। “अवैध मदिरा केवल कानुनविपरीतको कार्य होइन, यसले मानिसको स्वास्थ्यमा दीर्घकालीन क्षति पुर्याउँछ र समाजमा अपराधिक गतिविधि बढाउँछ,” उनले भने।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रमुख नायब उपरीक्षक बिजयराज पण्डितको उपस्थिति थियो। साथै, स्थानीय वडाध्यक्षहरू, पत्रकार, सामाजिक अगुवालगायत करिब १५० जनाले सहभागिता जनाएका थिए।
जनचेतनामूलक कार्यक्रममा अवैध मदिराको स्वास्थ्यमा पर्ने असर, समाजमा निम्त्याउने विकृति र कानुनी कारवाहीका सम्भावित जोखिमबारे जानकारी दिइयो। कार्यक्रममा सहभागीहरूले स्थानीय सरकार, प्रहरी र समुदायबीच सहकार्य गर्दै यस्ता गतिविधिहरू रोक्न सामूहिक प्रयासको आवश्यकता रहेकोमा जोड दिए।
कार्यक्रमको समापनमा प्रहरी प्रशासनले स्थानीय निकायसँग मिलेर अवैध मदिरा नियन्त्रणका लागि अझ प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया