वीरगन्ज :

बाराका एसपी तामाङले सरकारी अस्पतालमा गराए स्वास्थ्य परीक्षण

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
2.5kViews
1246 Shares

कलैया,३१ असार । बाराका प्रहरी प्रमुख (एसपी) सन्तोष तामाङले सरकारी स्वास्थ्य सेवा प्रणालीप्रति आफ्नो गहिरो विश्वास प्रकट गर्दै कलैयास्थित सरकारी प्रादेशिक अस्पतालमै स्वास्थ्य परीक्षण गराएका छन् । उनको यस कदमले नागरिकस्तरमा सरकारी स्वास्थ्य संस्थाप्रतिको विश्वास बढाउनुका साथै समाजमा एक सकारात्मक सन्देश प्रवाह गरेको छ ।

कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय गुप्ताले एसपी तामाङको यस कार्यको प्रशंसा गर्दै यसले आम नागरिकमा सरकारी स्वास्थ्य सेवाप्रतिको विश्वास अभिवृद्धि गर्ने बताएका छन् । उनले कलैया अस्पताल पहिलेभन्दा अत्यन्तै राम्रो भएको दाबी गर्दै सबै जनतालाई निर्धक्क भएर सेवा लिन आउन आग्रह गरे । यद्यपि, उनले पछिल्लो समय सरकारले बीमाको रकम भुक्तानी नगर्दा औषधि आपूर्तिमा समस्या भइरहेको स्वीकार गरे । डा. गुप्ताले यस अवस्थामा सेवाग्राहीको गाली खानु आफ्नो नियति बनेकोमा दुःख व्यक्त गरे ।

बारा नागरिक समाजका अध्यक्ष उमेश लाल दासले एसपी तामाङ्गको निजी अस्पताल छोडेर सरकारी अस्पताल रोज्ने निर्णय आम जनताका लागि प्रेरणादायी उदाहरण बनेको बताए । उनले जिल्लाका सुरक्षा निकायका प्रमुखहरूले समेत सरकारी अस्पतालमा सेवा लिन थालेमा आम जिल्लाबासीको सरकारी अस्पतालप्रतिको नकारात्मक बुझाई हट्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्य परीक्षणपछि एसपी तामाङले आफ्नो अनुभव बाँड्दै भने, ‘सरकारी अस्पतालमा दक्ष डाक्टर र आवश्यक उपकरण छन् । हामी आफैंले विश्वास नगरेसम्म जनताले कसरी विश्वास गर्ने ?’ उनको यो व्यवहारले प्रहरी प्रशासनको जनमुखी सोच मात्र प्रस्तुत गरेको छैन, बरु सरकारी सेवाप्रति नागरिकको भरोसा कायम गर्न पनि मद्दत पुर्‍याएको छ ।

स्थानीयबासी र अस्पताल प्रशासन दुवैले एसपी तामाङको यस कदमको खुलेर प्रशंसा गरेका छन् । गोपाल सेवा समितिका अध्यक्ष जङ्गबहादुर यादवले एसपी तामाङ्गको सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गराउने निर्णय एउटा सानो कार्य देखिए पनि यसले समाजमा ठूलो मनोवैज्ञानिक प्रभाव पारेको बताए । यो कार्यले सरकारी सेवाको प्रयोग र प्रवर्द्धनका लागि सबैलाई प्रेरित गर्ने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *