
श्रेणी : समाचार
काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संखुवासभा, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लाहरुमा बर्षातसँगै गएराति आएको बाढी पहिरोबाट भएको क्षतिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा भट्टराईले संखुवासभा, ताप्लेजुङलगायतका जिल्लाहरुमा बाढी पहिरोबाट ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई संसदलाई जानकारी गराउन माग गरे ।
त्यसैगरी सांसद दीपक खड्काले सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडमा गएराति अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको भन्दै जतिसक्दो चाँडो उद्धारमा लाग्नु सरकारसमक्ष आग्रह गरेका छन् ।
वैठकको सुरुमै समय माग गरी उनले भने, “खास गरी सङ्खुवासभामा अहिले सुपर हेवा हाइड्रोपावरमा काम गर्ने मजदुर १६ जना बेपत्ता भएको, तीन जना फेला परेको र एक जना मृत फेला परेको, तीन जना घाइते भएको जानकारी आएको छ । यसबाहेक पनि विभिन्न ठाउँमा मान्छे हराइराखेको सूचना आएको छ, उद्धारमा जाने सुरक्षाकर्मी, राजनीतिक दलका नेताहरु सम्बन्धित ठाउँमा पुगिनसकेको अवस्था छ ।”
उनले सुपर हेवा हाइड्रोपावरलगायतका धेरै स्थानमा क्षति भएको बताउँदै तीन वटा पक्की पुल र एउटा झोलुङ्गे पुल बगाएको संसदमा बताए । उक्त घटनाका कारण खर्बौं रुपैयाँको क्षति अएको अनुमान गरिएको उनको भनाइ छ । बगरमा रहेका सम्पूर्ण बाली नष्ट भएको र ११ वटा घर बगाएर विस्तापित भएको उनले जानकारी दिए ।
सङ्खुवासभालगायत क्षतिग्रस्त जिल्लामा सरकारले तत्काल उद्धार राहत र सहयोग पुर्याउन उनले माग गरे । सांसद खड्काले आफूहरुले आजै बिहान प्रधानमन्त्रीलाई भेटेर राहतका लागि अनुरोध गरेको बताउँदै उनले भने, “पहाडी इलाकाका सुरक्षाकर्मीले मात्रै त्यस क्षेत्रमा भएको क्षतिलाई उद्धार गर्न नसक्ने भएका कारण सभामुखमार्फत सरकारसमक्ष जतिसक्दो चाँडो उद्धार कार्यमा लाग्न र क्षतिलाई न्यूनीकरण गरी क्षतिपूर्ति राहात र उद्धार गरिदिनु हुन पनि विनम्र आग्रह गर्दछु ।”

प्रतिक्रिया