वीरगन्ज :

बहुदरमाई नगरपालिकामा सात महिनादेखिको मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद समाधान

श्रेणी : मधेस

6 months
Pradeep Sah
1.9kViews
1311 Shares

वीरगन्ज,१७ माघ । बहुदरमाई नगरपालिकामा विगत सात महिनादेखि जारी मेयर सिंगासन सा तेली र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाबीचको विवाद समाधान भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र खानेपानीमन्त्री प्रदीप यादवको पहलमा काठमाडौंमा दुवै पक्षलाई राखेर छलफल गरिएपछि सहमति भएको हो ।

मेयरले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्चको अख्तियारी नदिँदा नगरपालिकाका कर्मचारी, शिक्षक, र स्वास्थ्यकर्मीको तलबभत्ता रोकिएको थियो। प्रशासनिक र विकास निर्माणका कामसमेत ठप्प हुँदा नगरपालिकाका सामुदायिक विद्यालयहरूले तालाबन्दी गरेका थिए, जसले विद्यार्थीलाई दुई हप्तादेखि पठनपाठनबाट वञ्चित गराएको थियो ।

छलफलपछि मेयर तेलीले गत कार्तिक ८ गतेको नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट प्रमाणिकरण गरेका छन्। सामान्य प्रशासनमन्त्री गुप्ताले अहिलेका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने र नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउने सहमति भएको बताए ।

खानेपानीमन्त्री प्रदीप यादवले मेयर र प्रशासकीय अधिकृतबीचको समझदारीलाई विवाद समाधानको ठूलो उपलब्धि भन्दै स्थानीय समस्याहरू छिटै समाधान हुने विश्वास व्यक्त गरे ।

नगरवासीले यो सहमतिलाई स्वागत गरेका छन्। नेपाली कांग्रेसका युवा नेता राकेश यादवले भने, “बाहिर मेयर र प्रशासकीय अधिकृतबीचको विवाद जस्तो देखाइए पनि पर्दापछाडिका खेलाडी जिल्लाकै मन्त्रीहरू थिए। ढिला भए पनि निकास दिएकामा धन्यवाद दिन चाहन्छौं ।”

स्थानीयहरूले अब नगरपालिकाको प्रशासनिक कामकाज र सेवा प्रवाह सुचारु हुने अपेक्षा राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *