
श्रेणी : मधेस
बीरगन्ज,२५ जेठ । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले एकदिने तालिम सम्पन्न भएको छ। बहुदरमाई नगरपालिका र जिल्ला प्रशासन कार्यालय पर्साको संयुक्त आयोजनामा भएको कार्यक्रम नगरसभाहलमा सम्पन्न भयो।
कार्यक्रममा सुरक्षाकर्मी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकको उल्लेखनीय उपस्थिति थियो। नगरपालिकाका राजनीतिक सल्लाहकार विपीन यादवले बहुदरमाइ क्षेत्रका किशोर–किशोरी मात्र नभई साना बालबालिकासमेत लागुऔषधको लतमा फस्न थालेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।
“अब पनि हामी सचेत नभए यस क्षेत्रको भविष्य गम्भीर मोडतर्फ जान सक्छ,” उनले भने। उनले लागुऔषध नियन्त्रणमा प्रहरीसहित सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
त्यसक्रममा यादवले प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुदर्शन अर्यालसँग नागरिकता र राष्ट्रिय परिचयपत्र निर्माणको क्रममा देखिएको जनगुनासो समाधान गर्न अनुरोध गरे। जवाफमा सिडिओ अर्यालले प्रशासन नागरिकका समस्याप्रति संवेदनशील रहेको बताउँदै तत्काल समाधानको प्रतिबद्धता व्यक्त गरे। “जिल्ला प्रशासन कार्यालयमा काम गराउन जाँदा समस्या परे सिधै मलाई फोन गर्नुस्, तुरुन्त समाधान गर्छु,” उनले भने।
कार्यक्रममा पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले लागुऔषध सेवन तथा कारोबारमा संलग्नहरूविरुद्ध कडा कारबाहीको चेतावनी दिएका छन्। “यदि तपाईंसँग यस्ता गतिविधिका बारेमा सूचना छ भने दिनुहोस्, कारबाही गर्ने जिम्मा मेरो हो,” उनले भने।


प्रतिक्रिया