वीरगन्ज :

बस र कार ठोक्किँदा कार चालकको मृत्यु

श्रेणी : प्रदेश

2 months
Pradeep Sah
2.7kViews
1830 Shares

चितवन,०९ जेठ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको चितवन खैरहनी नगरपालिका–२ ज्यामिरे चोकमा बिहीबार राति बस र कार ठक्कर खाँदा कार चालकको ज्यान गएको छ । निधन हुनेमा खैरहनी–८ का ४२ वर्षीय प्रदीप तिमिल्सिना रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालले जानकारी दिएका छन् ।

राति पौने दुई बजेतिर तिमिल्सिनाले चलाएको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको विद्युतीय (ईभी) कार बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको यात्रु बससँग ठक्कर खाएको प्रहरीले जनाएको छ । बस उदयपुरबाट काठमाडौं जाँदै थियो भने कार त्यसको विपरीत दिशाबाट आउँदै थियो । बससँग ठोक्किएपछि सख्त घाइते भएका कार चालक तिमिल्सिनालाई चितवन मेडिकल कलेज (सिएमसी)को भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

उपचारका क्रममा बिहानीपख तीन बजेर पाँच मिनेट जाँदा तिमिल्सिनालाई चिकित्सकले मृत घोषणा गरेको डिएसपी खनालले बताए । ठक्कर खाएका दुवै गाडी र बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

केही दिनयता चितवनका राजमार्ग र भित्री सडकमा मोटरसाइकल र साना गाडीहरू दुर्घटना हुने क्रम बढेको छ । यसलाई कम गर्न प्रहरीले जाँचलाई कडिकडाउ पार्नुका साथै चालकलाई सचेत गराउने अभियान सुरु गरेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *