
श्रेणी : मधेस
बीरगन्ज,२० वैशाख । जितपुर सिमरा उपमहानगरपालिका–१०, बलुवाटोलमा आत्महत्या रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। २०८२ साल बैशाख २० गते आयोजित उक्त कार्यक्रममा करिब १५० जनाको सक्रिय सहभागिता रहेको थियो। विगत तीन वर्षको अवधिमा बलुवाटोल क्षेत्रमा १२ जनाले आत्महत्या गरेका घटनाहरूको पृष्ठभूमिमा चेतनामूलक पहल स्वरूप कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम स्थानीय समाजसेवी जितेन्द्र मण्डलको अगुवाइमा सम्पन्न भएको थियो भने प्रमुख सहजकर्ता मनोविमर्शकर्ता मुनीलाल बैठा थिए। कार्यक्रममा आत्महत्याको बढ्दो प्रवृत्ति, यसको कारण, पहिचानका संकेतहरू, रोकथामका उपायहरू, समाजमा व्याप्त भ्रामक धारणाहरू, र सहयोग प्राप्त गर्न सकिने निकाय तथा हेल्पलाइनहरूको विषयमा विस्तृत रूपमा छलफल गरिएको थियो।
नेपाल प्रहरीका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्र देशभर ७,२२३ जनाले आत्महत्या गरेका छन्, जुन दैनिक औसतमा २० जनाको मृत्यु बराबर हो। त्यसैगरी, आर्थिक वर्ष २०७८ देखि हालसम्म बारामा ५१५ र पर्सामा ४२० जनाले आत्महत्या गरिसकेका छन्।
कार्यक्रममा स्थानीय महिला, पुरुष, विद्यालयका विद्यार्थी, युवा र बुद्धिजीवीहरू लगायतको उल्लेखनीय सहभागिता थियो। कार्यक्रमको अन्त्यमा सहभागीहरूले आत्महत्या विरुद्धको साझा प्रतिबद्धतामा हस्ताक्षर गर्दै समुदायमा चेतना फैलाउने प्रण गरेका थिए।
यस किसिमका कार्यक्रमले मानसिक स्वास्थ्यप्रति समाजको दृष्टिकोण परिवर्तन गर्न र समयमै सहयोग पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया