वीरगन्ज :

बर्धमान अस्पतालमा सुत्केरीको मृत्यु, लापरवाहीको आरोपमा सञ्चालक चिकित्सक पक्राउ

श्रेणी : अपराध

3 months
Pradeep Sah
1.7kViews
1351 Shares

जनकपुर,२८ वैशाख । सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा शल्यक्रिया गरिएकी एक सुत्केरी महिलाको मृत्यु भएको छ। मृतक मिर्चैया नगरपालिका–११, सीतापुरकी करिब ३० वर्षीया रामकाशी यादव हुन्।

शुक्रबार बिहान व्यथा लागेपछि उनलाई परिवारजनले अस्पताल लगेका थिए। दिउँसो करिब १२ बजे शल्यक्रिया गरी छोराको जन्म भए पनि त्यसपछि उनकी स्वास्थ्य अवस्था बिग्रँदै गएको बताइएको छ। रामकाशी यसअघि दुई छोरीकी आमा थिइन्।

परिवारका अनुसार शल्यक्रियापछि स्वास्थ्य अवस्था गम्भीर हुँदै गए पनि अस्पतालले तुरुन्तै रिफर नगरेको गुनासो छ। “हामीले पटक–पटक रिफर गरिदिन आग्रह गर्‍यौं, तर अस्पतालले ‘यतै ठिक हुन्छ’ भन्दै टार्यो,” मृतकका श्रीमान् सन्त यादवले बताए।

अन्ततः शनिबार बिहान २ बजेतिर मात्र उनलाई रिफर गरियो। तर, विराटनगर लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो। न्युरो अस्पताल विराटनगरले बिहान साढे ५ बजे उनलाई मृत घोषणा गरेको हो।

श्रीमान यादवले शल्यक्रियाका क्रममा अत्यधिक रक्तश्राव भए पनि अस्पतालले समयमा प्रभावकारी उपचार नगरेको र ढिलो रिफर गरेको आरोप लगाएका छन्। “हामीले रगत ल्याएर दियौं, तर अस्पतालको तयारी र उपचार देख्दा हामी सन्तुष्ट थिइनौं,” उनले भने।

बच्चाको अवस्था भने सामान्य रहेको बताइएको छ।

सुत्केरीको ज्यान गएको घटनामा अस्पतालको लापरवाही भएको भन्दै परिवारजनले बर्धमान अस्पताल अगाडि शवसहित सडकमा प्रदर्शन गरे। प्रदर्शनपछि प्रहरीले अस्पतालका सञ्चालक एवं शल्यक्रिया गर्ने चिकित्सक डा. तेजशंकर यादवलाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्दकुमार साहले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए। अस्पताल सञ्चालक यादवबाट सोधपुछ भइरहेको छ भने उनका तर्फबाट कुनै प्रतिक्रिया सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *