
श्रेणी : अपराध
बर्दीबास,०८ भदौ । बर्दीबास–३ गौरीडाँडास्थित बीपी राजमार्गमा प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बर्दीबास र इलाका प्रहरी कार्यालय बर्दीबासको संयुक्त टोलीले सिरहाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ०१–००६ ख ७३०३ नम्बरको ह्यास गाडी जाँच गर्दा हिरोइन बरामद भएको हो।
गाडीको अन्तिम सिटमा सवार सिरहा नगरपालिका–७ का ३७ वर्षीय बालकृष्णकुमार मुखियाको झोलाभित्र कालो प्लास्टिकमा राखिएको अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बरामद खैरो हिरोइनको तौल ४६ ग्राम ६१० मिलिग्राम छ, जसको बजार मूल्य करिब ४ लाख रुपैयाँ बराबर हुन्छ।
प्रहरीले मुखियालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।
यसैबीच, लागुऔषध नियन्त्रण ब्युरो बर्दीबासले पछिल्लो अभियानमा ५४९.८५ ग्राम खैरो हिरोइन बरामद गरेको छ, जसको मूल्य करिब ४६ लाख ४३ हजार रुपैयाँ बराबर हुन्छ। सो क्रममा दुई एम्बुलेन्स, चार मोटरसाइकल र ओसारपसारमा संलग्न ३९ जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये दुई महिला र दुई विदेशी नागरिक पनि रहेका छन्।


प्रतिक्रिया