
श्रेणी : BANNER
महोत्तरी,१८ भदौ । बर्दिबासस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा सोही शिक्षालयका शिक्षक वसन्तप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार, पीडित छात्रा र शिक्षालय प्रशासनको जाहेरीका आधारमा यादवलाई पक्राउ गरी अभद्र आचरण मुद्दा दर्ता गरिएको छ। इलाका प्रहरी कार्यालय बर्दिबासले मंगलबार उनलाई नियन्त्रणमा लिएर म्याद थप गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ।
विद्यालयका विद्यार्थीहरूको दाबीअनुसार, शिक्षक यादवले परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्राहरूसँग जबर्जस्ती शारीरिक सम्पर्क गर्न खोज्ने गरेका थिए। केही विद्यार्थीहरूले राति फोन गरेर धाकधम्की दिने अडियोसमेत प्रमाणका रूपमा सार्वजनिक भएपछि विद्यालय प्रशासनले उनलाई प्रहरीको जिम्मा लगाएको हो।
यसअघि पनि, २०८१ पुस १५ गते सोही शिक्षालयका तीन जना छात्राहरूले सामूहिक रूपमा विष सेवन गरी आत्महत्याको प्रयास गरेका थिए, जसमा सिराहाको धनगढी नगरपालिका–१० की १७ वर्षीया छात्रा रिङ्कु शर्माको मृत्यु भएको थियो। तर उक्त घटनाको पूर्ण अनुसन्धान हुन सकेको थिएन र त्यसलाई ढाकछोप गरिएको भन्दै अभिभावक र विद्यार्थीहरूले असन्तुष्टि जनाउँदै आएका छन्।


प्रतिक्रिया