वीरगन्ज :

बर्खामै मधेश सुक्खाग्रस्त, रोपाइँ ३४ प्रतिशतमै सीमित

श्रेणी : कृषि

4 days
Pradeep Sah
1.7kViews
1524 Shares

जनकपुर,३१ असार । धानको भण्डार मानिने मधेश प्रदेशमा यो वर्ष असार सकिँदै गर्दा पनि रोपाइँ सुस्त गतिमा अघि बढिरहेको छ। सातै प्रदेशमध्ये सबैभन्दा कम रोपाइँ मधेशमा मात्रै ३४ प्रतिशत हुन सकेको कृषि तथ्यांकले देखाएको छ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार मधेशमा कुल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रमा बर्खे धान रोपिन्छ। तर असार २९ सम्म १ लाख २५ हजार ८ सय ८८ हेक्टरमा मात्रै रोपाइँ भएको छ, जुन कुल क्षेत्रफलको ३३.७८ प्रतिशत मात्र हो। गत वर्ष यसै समयसम्म झन्डै दोब्बर अर्थात् ६६.७ प्रतिशत रोपाइँ भइसकेको थियो।

रोपाइँमा कमी हुनुको मुख्य कारण सिँचाइको अभाव र मनसुनको असमान वर्षा भएको कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक सुशील सुवेदी बताउँछन्। “पहाडमा पानी परेको भए पनि मधेशमा पर्याप्त वर्षा भएको छैन। मुख्य धान क्षेत्रमै पानी र रोपाइँ नभए उत्पादन घट्न सक्छ,” सुवेदीले बताए। उनका अनुसार साउन १५ सम्म पानी परे रोपाइँ बढ्न सक्छ, तर ढिलो रोपाइँ हुँदा हर्दिनाथ, सावित्री र राम जातका धानमा असर पर्ने सम्भावना छ।

मनसुन जेठ १५ मै भित्रिए पनि मधेशमा पर्याप्त पानी नपरेपछि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। बाढी र पहिरोका कारण अन्य ठाउँमा क्षति भइरहँदा मधेशमा भने पानीको अभावले किसानलाई समस्या निम्त्याएको छ। “अब पनि १०–१५ दिन पानी नपरे धेरै समस्या हुनेछ,” सुवेदीले भने।

यद्यपि कम पानीमा पनि उत्पादन दिनसक्ने धानका जात लगाउनुपर्ने विज्ञहरू बताउँछन्। “बहुगुणे १ र २, सुक्खा १ देखि ६ र मसिनोमा सुक्खा ५ र ३ जातले कम पानीमा पनि राम्रो उत्पादन दिन सक्छन्,” सुवेदीले जानकारी दिए।

अन्य प्रदेशको अवस्था हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९३.१ प्रतिशत रोपाइँ भइसकेको छ। कर्णालीमा ८३.२३ प्रतिशत, लुम्बिनीमा ७३.६८ प्रतिशत, बागमतीमा ७६.३१ प्रतिशत र गण्डकीमा ६९ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ। कोशीमा भने ४१.३२ प्रतिशत रोपाइँ भएको छ, जुन मधेशभन्दा केही मात्र राम्रो भए पनि अपेक्षाकृत कम नै हो।

मधेशमा समयमा वर्षा नभए कृषि उत्पादनमा ठूलो गिरावट आउने देखिएको छ। विज्ञहरूले अब पनि पानी परे बाँकी क्षेत्र रोपाइँमा ल्याउन सकिने र क्षति न्यून गर्न सकिने सुझाव दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *