
श्रेणी : प्रदेश
काभ्रे,२१ जेठ । बर्खा सुरु भएसँगै बीपी राजमार्ग पुनः जोखिमपूर्ण बन्दै गएको छ। गत असोजमा आएको भीषण बाढी र पहिरोले क्षति पु¥याएको राजमार्गको अधिकांश भागमा अझै स्थायी मर्मत नहुँदा सवारी सञ्चालन अस्थायी बाटोबाट भइरहेको छ।
काभ्रेको चौकीडाँडामा विशेषगरी पूर्वबाट काठमाडौंतर्फ आउने सवारीका लागि ठाडो उकालो चुनौती बनेको छ। यही उकालोमा मंगलबार काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको पश्चिम बंगालको एक पिकअप भ्यान पल्टिँदा चालक निरोन सरकार सामान्य घाइते भए। चालकको टाउकोमा चोट लागेको ट्राफिक असई रोहित हुमागाईंले जानकारी दिए।
राजमार्गको क्षतिग्रस्त भागमा पहिले खोलाबाटै गाडी गुडाइन्थ्यो। हाल भने भित्तातर्फ गेग्रान र ठूला ढुंगा राखेर अस्थायी बाटो तयार पारिएको छ, जहाँबाट सवारी सञ्चालन भइरहेको छ। यस्तै ठाडो उकालोमा सडकको ग्रेड नमिलेकोले लगातार दुर्घटनाको जोखिम बढेको भक्तपुर डिभिजन सडक कार्यालयका इञ्जिनियर दुर्गा प्रसादले बताए।
सबैभन्दा बढी क्षति काभ्रे भन्ज्याङ–नेपालथोक खण्डमा भएको छ, जहाँ ११ किलोमिटर सडक बाढीपहिरोबाट प्रभावित बनेको छ। ८.७ किलोमिटर सडक त रोशी खोलाले बगाइसकेको छ।
अहिले राजमार्ग सुधारका लागि चार वटा प्याकेजमा ठेक्का प्रक्रिया अघि बढाइएको छ। तीन प्याकेज काभ्रेमै र एउटा सिन्धुलीमा पर्छ। डालाबेंसी–बर्खे खोला खण्डमा भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले ३.२ किलोमिटर सडक मर्मतको जिम्मा लिएको छ। साथै नेपालथोक–बर्खे खोला र डालाबेंसी–चार सयबेंसी खण्डको ठेक्का प्रक्रिया सम्पन्न भइसकेको छ।
स्थानीयवासी र सवारी चालकहरूले बर्खा सुरु भएसँगै अस्थायी सडक प्रयोग जोखिमपूर्ण भएको भन्दै छिटो स्थायी मर्मतको माग गरेका छन्। यस्तै, ट्राफिक प्रहरीको उपस्थिति र संकेत व्यवस्थापन समेत बलियो बनाउनु पर्ने आवाज उठ्न थालेको छ।


प्रतिक्रिया