वीरगन्ज :

बरियारपुरस्थित विश्वप्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलाको रौनक शुरु, भव्य शोभायात्रा निकालियो

श्रेणी : BANNER

8 months
Pradeep Sah
2.1kViews
1404 Shares

कलैया (बारा), १७ असोज । विश्व प्रसिद्ध पञ्च वर्षीय गढीमाई मेलाको बिहीबार भव्य शोभायात्रा निकालिएको छ । बारा जिल्लाको बरियारपुर स्थित गढीमाई मन्दिर परिसरबाट निकालिएको शोभायात्रा जिल्लाको विभिन्न ठाउँको परिक्रमा गरि पुनः गढीमाई मन्दिर परिसरमै पुगेर समापन भएको थियो । प्रचारप्रसार एवं भव्य रुपमा मेला सम्पन्न गराउने उद्देश्यले वडा दशैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर भव्य शोभायात्रा निकालिएको हो ।

बाराको महागढीमाई नगरपालिकास्थित बरियारपुरमा अवस्थित गढीमाई मन्दिरबाट निकालिएको शोभा यात्रा बरियारपुर, ईनर्वा, बसतपुर हुँदै नेपाल-भारत सीमा नजिक रहेको मटिअर्वा विश्रामपुर, कलैया भरत चोक, गंजभवानीपुर-दहियार हुँदै गढीमाई मन्दिरमा पुगेर समापन भएको मेला संचालन तथा मूल व्यवस्थापन समितिले जनाएको छ । यसवर्ष हुने गढीमाई मेलालाई लिएर बाराबासीमा उत्साह थपिएको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले बताए । उनले मधेशको सांस्कृति झल्कने बाजागाजा र विभिन्न देवीदेवताहरुको आकर्षक झाँकीसहित शोभा यात्रा निकालिएको जानकारी दिए ।

प्रत्येक ५ वर्षमा १ पटक र १ महिनासम्म लाग्ने शक्तिपीठ गढीमाई मेलाका तयारी समेत सुरु भइसेकेको छ । मेला आगामी मंसिर १ गतेबाट सुरु हुने भएपनि अन्य वर्षको तुलनामा यसवर्ष घटस्थापनादेखि नै मन्दिरमा भक्तजनहरुको भीड रहेको छ । गढीमाई मेला खासगरि मधेश प्रदेशका जनताको लागि आध्यात्मक रुपले मात्र नभई भावनात्मक रुपले निकै महत्वपूणर् रहेको छ । मेलालाई सफल र भव्य बनाउन जिम्मेवार निकाय आ-आफ्नो ठाउँबाट कार्य गरिरहेका छन् भने बाराका जनताहरुले समेत शोभा यात्राको माध्यमबाट सम्पूणर् नेपालीहरुलाई मेलाको अवलोकन र गढीमाताको दर्शनका गर्न लागि आहवान गरेका छन् ।

गढीमाई मेला विश्वकै सबैभन्दा ठूलो धार्मिक मेलाहरूमध्ये एक मानिन्छ, विशेष गरी बलिको परम्पराका कारण यो मेला हरेक पाँच वर्षमा आयोजित हुन्छ, र यो नेपाल तथा भारतका श्रद्धालुहरूको एक प्रमुख धार्मिक गन्तव्य बनेको छ । गढीमाई मेलाको इतिहास दुई शताब्दी भन्दा बढी पुरानो छ, र यसमा लाखौं पशुहरू देवीको प्रसन्नताका लागि बलि चढाइन्छ ।

गढिमाईको इतिहास, पुजा र मेलाको महत्व
गढीमाई मन्दिर बारा जिल्लाको बरियारपुर, महागढीमाई नगरपालिकामा अवस्थित छ । यो मन्दिर ऐतिहासिक र सांस्कृतिक रूपमा निकै महत्वपूणर् छ । विशेष गरी गढीमाई मेलामा विश्वको सबैभन्दा ठूलो पशु बलि दिने स्थान पनि हो । मन्दिरको उत्पत्ति लगभग ३०० वर्ष पहिले भएको पाइन्छ । मन्दिरका संस्थापक भगवान चौधरीको जीवनसँग आधारित छ ।

किम्बदन्ती अनुसार हत्या अभियोगमा जेल परेका भगवान दास थारुले एक सपना देखे, जसमा देवी गढीमाईले उनलाई जेलबाट मुक्त गर्न, उनलाई दुष्टबाट बचाउन र उनलाई समृद्धि र शक्ति दिने बदलामा बलिदानको रूपमा रगत मागे । सुरुमा देवीले मानव बलिदान मागे तर चौधरीले सफलतापूर्वक पशु बलिदान गरे, यसरी एक परम्पराको स्थापित गरे जुन प्रत्येक पाँच वर्षमा अहिले पनि उक्त परमपरा जारी छ । दक्षिण एशियाका सबैभन्दा पूजनीय र महत्वपूणर् धार्मिक स्थलहरू मध्ये एक हो गढीमाई मन्दिर । जुन देवी गढीमाईको पूजाका लागि समर्पित छ । मन्दिरको उत्पत्ति पुस्ताहरूमा हस्तान्तरित गहिरो किम्वदन्तीमा नीहित छ, जसले देवी र स्थानीय समुदायबीचको गहिरो आध्यात्मिक सम्बन्धलाई प्रतिबिम्बित गर्दछ ।

गढीमाई मन्दिर सँस्थापक भगवान चौधरीको इतिहास
धेरै वर्ष पहिले, बरियारपुर गाउँका एक सम्मानित जमिनदार भगवान चौधरी दुर्भाग्यपूणर् परिस्थितिमा जेल परेका थिए । गाउँलेहरूले एक चोरलाई पक्राउ गरी कुटेर मारेपछि उच्च नैतिकताका व्यक्ति चौधरीले आफ्नो समुदायलाई बचाउन घटनाको जिम्मेवारी लिए । त्यसपछि उनलाई ऐतिहासिक मकवानपुर किल्लामा थुनामा राखिएको थियो । जेलमा रहँदा, भगवान चौधरीले देवी कालीको ध्यान र प्रार्थनामा आफूलाई समर्पण गरे । परम्परा अनुसार, एक रात देवी उनको सपनामा देखा परे र उनलाई आफ्नो सम्मानमा मन्दिर बनाउन निर्देशन दिए । उठ्दा चौधरीले चमत्कारी रूपमा जेलका ढोका खुलेको र आफू मुक्त भएको पाए । उनले यसलाई देवीको आशिर्वादको रूपमा माने र निर्देशन अनुसार मन्दिर बनाउने प्रतिज्ञा गरे ।

चौधरी गाउँ फर्किए, उनले आफ्नो सपनामा देवी देखा परेको ठाउँबाट पवित्र माटो बोके । बाटोमा, माटो उनले विश्राम गरेका केही ठाउँहरूमा खस्यो । समय बित्दै जाँदा, मकवानपुर गढी र जीतपुर गढी सहित यी स्थानहरू पवित्र स्थलहरु बने जहाँ मानिसहरूले देवी गढीमाईको पूजा गर्न थाले । बरियारपुर फर्किएपछि, भगवान चौधरीले मन्दिर निर्माण गर्न उपयुक्त स्थान खोजे । उनले दुखा कछडियाका सन्तान, एक सम्मानित स्थानीय व्यक्तिको सल्लाह लिए । देवीको सम्मानमा एक अनुष्ठान गरे, गाउँलेले आफ्नो शरिरका पाँच भागबाट रगत बगाए र भनिएको छ कि रगतले पृथ्वीलाई उज्यालो पारेको थियो, जसले देवीले मन्दिरको लागि स्थान स्वीकार गरेको संकेत गर्दछ ।

यो अनुष्ठान पछि, भगवान चौधरीले गढीमाई मन्दिर स्थापना गरे र देवीको सम्मान गर्न र उनको आशिर्वादको लागि धन्यवाद दिन पशु बलि दिने परम्परा सुरु भयो । सुरुमा, पाँच जीवित प्राणीहरु ः एक एकवटा ‘जङ्गली मुसा, स्थानीय कुखुरा, बंगुर, बोका र भैंसी’ प्रतीकात्मक श्रद्धाको रूपमा चढाइएको थियो । यो परम्परा शताब्दीदेखि निरन्तर चलिआएको छ र प्रत्येक पाँच वर्षमा भव्य गढीमाई मेलाको समयमा मनाइन्छ, जसले नेपाल र भारत तथा विश्वभरबाट लाखौं लाख भक्तहरूलाई आकर्षित गरेका छन् ।

गढीमाई मन्दिर गहिरो आध्यात्मिक महत्वको स्थानको रूपमा रहेको छ, जहाँ भक्तहरू देवीको आशिर्वाद खोज्न, प्रतिज्ञा पूरा गर्न र पुरातन परम्पराहरूको सम्मान गर्न आउँछन् । शताब्दीहरूमा, यो एक सांस्कृतिक र धार्मिक स्थल बनेको छ, जसले अनगिन्ती उपासकहरूको विश्वास र भक्तिलाई प्रतिनिधित्व गर्दछ । गाढीमाई मन्दिरको आफ्नो इतिहास भरी आशा, विश्वास र भक्तिभावको अटल शक्तिको प्रतीक बन्न जारी राखेको छ । यो केवल धार्मिक सम्पदाको प्रतीक मात्र होइन, मनन् र परिवर्तनको लागि पनि एक स्थल हो ।

गढीमाईमा पाँच वर्षे बलि
तिथि अनुसार मार्ग शुक्ल सप्तमीका दिन मन्दिरका मुल पुजारीले तान्त्रिक विधिद्धारा सेतो मुसा, परेवा, हास, सुङ्गुर र राँगा समेतको गरी पन्चवली दिएपछि मन्दिरमा सर्वसाधारणको लागि पनि वली खुल्ला हुने मन्दिरका मुल पुजारी मंगल चौधरीले बताउँछन् । ‘मान्छेको शरिरको ४ अंगबाट रगत चढाईन्छ । जसलाई नर वली भनिन्छ । नर बलिका लागि रौतहट सिम्रीका दुखा धामीले गढीमाईको विशेष पुजा, आराधानासँगै अन्य गढीमाईका मुल पुजारी, पुजारीहरुका साथमा रही आफ्नो शरीरबाट रगत निकाली नर वली स्वरुप रगत चढाउँदै आएका छन् । ‘यस अघि रातभर पुजा हुन्छ । पुजा, आराधनाको प्रभावले ब्रह्मस्थानमा अचानक आफै बत्ती बल्छ र पञ्चबलि हुन्छ’- मुल पुजारी मंगल चौधरीले सुनाए । हिन्दू धर्म संस्कृतिमा पशु बलिलाई शक्तिसँग जोडेर हेर्ने प्रचलन सदियौदेखि रही आएको छ । शक्तिकी देवीलाई खुसी पार्न बलि अनिवार्य भएको परापूर्वकालदेखि नैं मानिदै आएको छ ।

बलि रोक्न सक्रिय अभियन्ताहरु
गढीमाईलाई दिइने बली रोक्न मेलाको समयमा अभियन्ताहरु सक्रिय हुने गरेका छन् । सामाजिक अभियन्ताको खोल ओढेर विदेशी डलर खानेहरु गढीमाईलाई चढाइने बली रोक्न भनेर विभिन्न अभियान नै संचालन गर्ने गरेका छन् तर हालसम्म त्यसको कुनै असर परेको छैन । कहिलेपनि देखा नपर्ने अभियन्ताहरु मेला लाग्ने अवधिको एक महिना अगाडिदेखि त्यस क्षेत्रमा बलिप्रथा विरुद्ध प्रचारवाजी गर्ने गरेका छन् । यो कार्य उनीहरुको अहिलेदेखिको होइन, वर्षौदेखिको हो । मन्दिरका मूल पुजारी मंगल चौधरी भन्छन्, ‘हामीले कसैलाई बलि लिएर आऊ भनेका होइनौं, आस्थाले ल्याउने गर्छन् । राँगा, बोका, सुँगुर, मुसा, हाँस, कुखुरा र परेवाको बलि दिने गरिन्छ ।’ बलि रोक्न केही अभियन्ताहरू वर्षौंदेखि कार्य गरिरहेका छन् । उनीहरूले सो क्षेत्रमा पर्चा र पम्प्लेटहरू ठाउँठाउँमा वितरण गर्ने गरेका छन् तर यसको प्रभाव कहिलेपनि नपरेको स्थानीयहरुको भनाई छ ।

प्यागोडा शैलीको मन्दिर
प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरभित्रको देवी मूर्ति करिब १५० वर्ष पहिले उपेन्द्रविक्रम शाहले स्थापना गरेको इतिहास रहेको छ । नेपालको अन्य मन्दिरको हिसाबले धेरै ठूलो नभए पनि आकर्षक रहेको त्यहाँ गएपछि जोकोहीले अनुभव गर्न सक्ने स्थानीयहरुको भनाई छ । मेला अवधिभर भारतका विभिन्न राज्य तथा नेपालका गरी करोडौंको संख्यामा पर्यटक एवं भक्तजन उपस्थित हुनु र पूजाअन्तर्गत विशेष दीप प्रज्ज्वलित हुनु तथा लाखौंको संख्यामा बलि दिइएको पशु रगतमा झिँगा नलाग्नु गढीमाई मेलाको थप विशेषता हो ।

सदरमुकाम कलैयाबाट ७ किलोमिटर पूर्व महागढीमाई नगरपालिका- १ बरियारपुरमा अवस्थित धार्मिक पर्यटकीय क्षेत्रमा पुग्न यातायात सुविधा प्रसस्त छन् । राजधानी काठमाडौंबाट कलैयासम्म दैनिक दिवा तथा रात्री बस सेवा, टाटा सुमो सेवा सञ्चालनमा रहेका छन् । हवाई मार्गबाट सिमरा पुगी वीरगंज हुँदै यहाँ सजिलै पुग्न सकिन्छ । भारतीय पर्यटकहरू रक्सौल हुँदै वीरगंजबाट पनि त्यहाँ पुग्ने गर्छन् । त्यसको साथसाथै मधेश प्रदेशका जिल्लाहरुमा रहेको नेपाल भारत खुल्ला सिमानाको कारण पनि भारतीय भक्तजनहरुको व्यापक घुइँचो हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *