श्रेणी : BANNER
वीरगंज (पर्सा), ५ असार । तराईमा बढ्दो गर्मीसँगै नारायणी अस्पतालमा शर्पदंशका विरामीको संख्यामा वृद्धि भएको छ । बढ्दो गर्मीमा शर्पहरु बाहिर निस्किने गरेको र सर्वसाधारणहरु सावधानी नपनआई हिँड्ने गरेको कारण सर्पदंशका विरामीको संख्यामा वृद्धि भएको हो । अहिले वीरगंज स्थित नारायणी अस्पतालमा शर्पदंशका विरामीहरुको संख्या अत्याधिक रहेको नारायणी अस्पताल आकस्मिक कक्षका प्रमुख डा. उदयनारायण सिंहले जानकारी दिए ।
अहिले नारायणी अस्पतालमा मात्रै दैनिक ८ देखि १० जना सर्पदंशका विरामीहरु उपचारका लागि आउने गरेको उनको भनाई छ । तराईमा औषत तापक्रम ४० देखि ४२ डिग्री सेल्सियसम्म पुगी रहेकोले वर्तमान बढ्दो गर्मीको अवस्थामा पानीको कमि तथा तातो हावाबाट झाडापखाला, ‘लु’ जस्ता विरामीहरुको संख्या बढि हुने गरेको अवस्थामा सर्पदंशका विरामीहरुको संख्यामा पनि वृद्धि भएको डा. सिंहले जानकारी दिए ।
दुई तीन सातादेखि सर्पदंशका विरामीको संख्यामा अत्याधिक बढेको उनले बताए । नारायणी अस्पतालमा उपचारका लागि दैनिक ८ देखि १० जना सर्पदंशका विरामीहरु आउने गरेकोमा दुई तीनजना सिकिस्त अवस्थामा नै आउने गरेको र उनीहरुलाई भेन्डिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्थासम्म सृजना भएको डा. सिंहले जानकारी दिए । उनका अनुसार अझै दुई तीन साता सर्पदंशका विरामीको संख्या बढ्ने अवस्था छ । गर्मी यामसँगै बर्षा भएपछि अझै सर्पदंकका विरामीहरु बढ्ने सम्भावना रहेको बताए ।
सर्पदंशबाट खासगरि बालबालिकाहरु प्रभावित भएको उनको भनाई छ । डा. सिंहले सर्पदंशबाट बच्ने सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरे । उनले घरको दुलो, प्वालहरु टाल्ने, सर्प बस्ने सम्भावित झाडी, बारी लगायतका स्थानहरु सफा राख्नुपर्ने, बालबालिकाहरुलाई त्यस्तो ठाउँमा खेल्न नपठाउन आग्रह गर्दै अकस्मात सर्प दंशको घटना भइहाले तत्कालै नजिकैको स्वास्थ्य चौकीमा पुर्याउन आग्रह गरे । सर्प दंशबाट स्वाँस प्रस्वाँसमा चाँडै समस्या हुने गरेकोले सावधानी अपनाउँदै तत्काल विरामीलाई अस्पताल पुर्याउन उनले आग्रह गरे ।
तराईका जिल्लाहरुमा बढ्दो गर्मीको प्रभावले सर्पहरु आक्रामक देखिएको छ । अन्य वर्षको तुलनामा यस वर्ष करेत, कोब्रा सर्पहरु बढि आक्रामक देखिएको डा. सिंहको भनाई छ । करेत, कोब्रा प्रजातिका सर्पहरु हाम्रो घर वरिपरि बारी, खुल्ला स्थान, दुलो लगायतका स्थानमा नै रहने भएकोले सर्वसाधारणहरु सर्पको शिकार बढि भएको देखिएको छ । यस्ता प्रजातिका सर्पहरु देख्ने वित्तिकै सावधानी अपनाउनुपर्ने, सरसफाई गर्नुपर्ने र आत्तिनु नपर्ने लगायतको कार्यहरुमा ध्यान दिनुपर्ने उनको सुझाव छ । वीरगंज टाईम्स
प्रतिक्रिया