बीरगन्ज,२४ चैत । पर्साको पर्सागढी नगरपालिका–३ बडनिहार बिरुवागुठीस्थित एक खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले सोमबार दिलमाया तामाङले सञ्चालन गरेको गौरे कटेज खाजा पसलबाट जुवातास खेल्दै र खेलाउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा पर्सागढी–३ का ५७ वर्षीय वीरेन्द्र साह, वडा नं. ४ का ४० वर्षीय सुरेन्द्र चौधरी, होटल सञ्चालक दिलमाया तामाङ, शीशीर तामाङ तथा वीरगन्ज महानगरपालिका–३१ का २७ वर्षीय अरविन्द गौरो रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट तीन सेट तास र १५ हजार ५५ रुपैयाँ नगद बरामद गरिएको छ।
पक्राउ परेकामाथि सार्वजनिक शान्ति विरुद्धको कसूर (जुवा खेल्न नहुने सम्बन्धी दफा १२५) अन्तर्गत आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया