
श्रेणी : मधेस
जनकपुर,०६ जेठ । धनुषाको बटेश्वर गाउँपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी विवादास्पद योजना सम्वन्धी कागजातहरू नियन्त्रणमा लिएको छ। आयोगको बर्दिबासस्थित क्षेत्रीय कार्यालयबाट आएको टोलीले मंगलबार कार्यालयमै पुगेर छापा मारेको हो।
सूत्रका अनुसार, गाउँपालिकामा विगतमा “सेटिङ”मा टेन्डर तथा कोटेसनमार्फत वितरण गरिएका योजनाहरूको कार्यान्वयनमा गम्भीर अनियमितता भएको आशङ्कामा छापा मारिएको हो। ऑनलाइनखबरमा सार्वजनिक भएको समाचारपछि अख्तियारले कागजात माग्दै पटक–पटक पत्राचार गरे पनि कार्यालयले सहयोग नगरेपछि टोली आफैँ कार्यालय पुगेको हो।
छापा मार्ने क्रममा कर्मचारीहरूले फाइल रहेको दराजको साँचो निलम्बित लेखा अधिकृत सुमन पुरीसँग रहेको भन्दै कागजात दिन मानेनन्। अख्तियारको टोलीले झण्डै चार घण्टा प्रयास गरेपछि ताल्चा फुटाएर फाइल लिने चेतावनी दिएको थियो। त्यसपछि मात्र दराज खोलिएको र फाइल उपलब्ध गराइएको अख्तियारका एक कर्मचारीले जानकारी दिए।
कर्मचारीहरूको अनुसार, अख्तियारले नियन्त्रणमा लिएको कागजातमा चार वर्षदेखि अलपत्र रहेका योजनाहरू समावेश छन्। जसमध्ये गाउँपालिका अगाडिको अधुरो महादेव मन्दिर, वडा नं. १ स्थित लक्ष्मी माविको अधुरो भवन, र आधा दर्जनभन्दा बढी योजनाका फाइल छन्।
अख्तियार स्रोतका अनुसार, २०७८/७९ को आर्थिक वर्षमा तत्कालीन अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत रामजी जोसी, र लेखा अधिकृत सुमन पुरीले मिलेमतोमा रौतहटको आर्यन कन्ट्रक्सनलाई योजनाहरू दिएको आरोप छ।
रिपोर्टअनुसार आर्यन कन्ट्रक्सनलाई दिइएका योजनाहरूमा एक प्रतिशतसम्म पनि दर बिलो गरिएको छैन। कामको गुणस्तरबारे पनि गुनासो उठिरहेको छ। योजनाको सुपरिवेक्षणमा रहेका गाउँपालिकाका इञ्जिनियर जितेन्द्र यादवलाई पन्छ्याएर, करारमा ल्याइएका इञ्जिनियर शौरभ कुशवाहामार्फत बर्दिबासबाटै कागजात तयार पारिएको उल्लेख छ।
अख्तियारले नियन्त्रणमा लिएका कागजातहरूको अध्ययनपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ। गाउँपालिका स्तरमा देखिएको यो प्रकारको व्यापक अनियमितता सार्वजनिक भएसँगै, स्थानीय तहमा पारदर्शिता र जवाफदेहिताको सवाल फेरि उठेको छ।


प्रतिक्रिया