
श्रेणी : अर्थ
काठमाडौं,३१ वैशाख । पूर्व अर्थमन्त्री तथा सांसद जनार्दन शर्माले आर्थिक पुनर्संरचना नगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन नहुने स्पष्ट सन्देश दिएका छन्।
बुधवार प्रतिनिधिसभाको प्रि-बजेट छलफलमा बोल्दै उनले अहिलेको बजेट संरचना देशको दीर्घकालीन समृद्धिको लागि उपयुक्त नभएको बताउँदै कुल बजेटको ६५ प्रतिशत भाग चालु खर्चमै जाने अवस्था अन्त्य गर्नुपर्ने धारणा राखे।
उनले भने, “आज हामीसँग जनताको अपेक्षा पूरा गर्न स्रोत छैन। त्यसैले अबको बजेट आम्दानी र खर्च मात्र नभई सामाजिक तथा आर्थिक असमानता घटाउने, जनतालाई माथि ल्याउने नीतिगत दस्तावेज बन्नुपर्छ।”
शर्माले चालु खर्चको अनुपात घटाएर पुँजीगत खर्च बढाउनुपर्ने बताए। “हाल ६५ प्रतिशत बजेट चालु खर्चमा खर्च हुन्छ भने ३५ प्रतिशत पुँजीगत भनिएको पनि पूर्ण रूपमा खर्च हुन सक्दैन। अब यो उल्टो हुनुपर्छ – ६५ प्रतिशत पुँजीगत खर्च र ३५ प्रतिशत मात्रै चालु खर्च,” उनले स्पष्ट गरे।
उनका अनुसार यस्तो रूपान्तरण बिना बजेटले देशको विकास सम्भव छैन।
शर्माले संरचनागत परिवर्तन अनिवार्य रहेको औंल्याउँदै राजनीतिक र प्रशासनिक क्षेत्रमा हुने खर्च कटौती गर्नुपर्नेमा जोड दिए। “१० खर्बको वरिपरि बजेट आउनेछ, त्यसमा करिब दुई-चार खर्ब त राजस्वले धानेला। बाँकी कहाँबाट ल्याउने? यसको उत्तर आर्थिक पुनर्संरचना नै हो,” उनले चेतावनी दिए।
शर्माले वर्तमान सरकारसँग दुई तिहाइको बहुमत रहेको र यति ठूलो बहुमतको सरकार आर्थिक सुधारका लागि निर्णायक कदम चाल्न तयार हुनुपर्ने बताए। “हामी पनि समर्थनमा छौं, तर सुधारबिना निरन्तर समस्यामा फसिन्छौं,” उनले भने।
जनार्दन शर्माको धारणा अनुसार, अबको बजेट ‘साधारण खर्चको दस्तावेज’ होइन, समृद्धिको दिशामा लाग्ने योजनामूलक नक्सा हुनुपर्छ। आर्थिक रूपान्तरण, पुँजीगत खर्चको प्राथमिकता, र नीतिगत दृढताबाट मात्र देशले अगाडि बढ्न सक्छ।

प्रतिक्रिया